काठमाडौं, भदौ २८ । सत्तारुढ नेकपा माओवादी केन्द्रका केही नेता र परिवारका सदस्यसँग सम्बन्ध बनाएर चिनियाँ तस्कर समुहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ महिनामा साढे साढे ३ क्वीन्टलभन्दा बढी सुन तस्करी गरेको पुष्टि भएको छ ।
माओवादी नेताहरुको आडमा सहयोगमा विमानस्थल भन्सारका कर्मचारी र भन्सार एजेन्टकै सहयोगमा तस्कर समुहले गन्तव्यसम्म सुन पुर्याएको प्रहरी अनुसन्धानबाट खुलेको हो । अनुसन्धानमा तानिएकाहरूले दिएको बयानअनुसार सुन तस्करको सम्बन्ध माओवादी पृष्ठभूमिका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वमन्त्री वर्षमान पुनको परिवारसँग निकट सम्बन्ध रहेको खुलेको छ । महरा र पुन पूर्वअर्थमन्त्री समेत हुनुहुन्छ ।
माओवादी नेताहरु रपरिवारका सदस्यहरुको आडमा विभिन्न तहमा आपराधिक सञ्जाल बनाएर सन् २०२२ को सेप्टेम्बरदेखि २०२३ को जुलाईसम्म हङकङ र दुबईबाट ३ सय ६२ किलो ७ सय ७८ ग्राम सुन हङकङ र दुबईबाट भित्र्याएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट खुलेको हो ।
हङकङबाट ब्रेक–सुको आवरणमा कार्गो गरी ल्याइएका वस्तु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँच पार गरेर सिनामंगल सडकमा पुगिसकेको अवस्थामा राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले गत साउन ३ गते बरामद गरेको थियो । तस्करी गरेको सुन काठमाडौंमा व्यवस्थापन जिम्मा पाएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले माओवादी नेता तथा परिवारका सदस्यसँगको पहुँच प्रयोग गरेको देखिन्छ । त्यही पहुँच प्रयोग गरी सुन तस्करीमा संलग्न विदेशीलाई नेपाली नागरिकता तथा राहदानीसमेत बनाइदिएको भेटिएको छ ।
दावाले माओवादी कार्यकर्ता रोल्पाकी अमला रोकासँग विवाह गरेर अपराधको सञ्जाल फैलाउन सफल भएको अनुसन्धानले देखाएको छ ।त्यस्तै विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको सुन तस्कर दावाजिन वाङको माओवादी नेता महरा तथा उहाँका दुई छोरा राहुल र निर्मलसँग निकट सम्बन्ध रहेको पनि खुलेको छ । भेपको अनुसन्धान अझै जारी रहेको प्रहरीले जनाएको छ । सोही प्रकरणमा महरापुत्र राहुल पक्राउ परिसकेका छन ।
ब्रेक–सुभित्र लुकाएर तस्करले करिब ६१ केजी सुन प्रकरणमा भने बुधबार ४१ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन सीआईबीले सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ । ब्रेक–सु प्रकरणमा सुरुमा १९ दिनसम्म विभाग र त्यसपछि संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरेको थियो ।
तस्करीका नाइके किटान गरिएका तिब्बती मूलका बेल्जियन नागरिकद्वय दावा र एलेक्स भनिने याओ फुचेन तथा चिनियाँ नागरिक दावाजिन वाङसँग सम्पर्क/सम्बन्ध देखिएपछि सीआईबीले पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश र पूर्वसभामुख महराका छोरा राहुलसँग सोधपुछ र बयान लिएको थियो । अनुसन्धानका क्रममा दीपेशसँग सीआईबीले पुनले प्रयोग गरिरहेको मोबाइल मागेको थियो । सीआईबी कार्यालयमै गएर कागज गरी ‘म मोबाइल भोलि ल्याएर दिन्छु’ भनेर हिँडेका दीपेश त्यसपछि बोलाउँदा उपस्थित हुन इन्कार गरेका छन । हालसम्म मोबाइल पनि दिएका छैनन ।
यस्तै पूर्वअर्थमन्त्री तथा माओवादी उपमहासचिव पुनका भाइ प्रनिश चिनियाँ तस्करको समूहले खोलेको कम्पनीमा साझेदार रहेको भेटिएको छ । सीआईबीले सरकारी वकिल कार्यालयमा बुझाएको रायसहितको प्रतिवेदनमा भने उनीहरूलाई प्रतिवादी बनाइएको छैन । माओवादीसँग निकट विवादास्पद व्यापारी भीमकान्त भण्डारीको पनि सुन तस्करसँग सम्पर्क भएको अनुसन्धानले देखाएको छ । माओवादीका चार नेता विभिन्न मितिमा मन्त्री हुँदा भण्डारी उहाँहरूकै सचिवालयमा बसेर काम गर्नुभएको थियो ।
सुन तस्करसँग सम्पर्कमा देखिएका अध्यागमन विभागका निवर्तमान महानिर्देशक झलकराम अधिकारीले पनि सम्बन्ध स्वीकार गअधिकारीले तस्करसँग सुनको विषयमा कुरा नभएको जिकिर गर्नुभएको छ । यसरी पटक–पटक राज्य सञ्चालनमा सामेल भइसकेका माओवादी शीर्ष नेताहरू र उनीहरूसँग निकट व्यापारी र कर्मचारीलाई प्रभावमा पारेर गिरोहले तस्करीमा सञ्जाल प्रयोग गरेको अनुसन्धानले देखाएको हो ।
पछिल्लो पटक बरामद ६१ केजी र बरामद हुन नसकेको तर यकिन भइसकेको गरी कुल ३ सय ६२ किलो ७ सय ७८ ग्राम सुन तस्करी तथा भन्सार छलीमा ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बिगो कायम गरेर संगठित अपराध निवारण ऐन, भन्सार ऐन, नेपाल राष्ट्र बैंक ऐन, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन र मुलुकी अपराध संहिता ऐन गरी सातवटा कसुरमा कैद र जरिवाना मागदाबीसहित मुद्दा चलाउन बुधबार सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पहिलो चरणको रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
नेपाली नागरिकता र राहदानी लिएर अपराधमा सामेल विदेशीलाई सातवटै कसुरमा मुद्दा चलाउन राय दिइएको छ । त्यस्तै संगठित अपराध, मुलुकी अपराध संहिता र भन्सार छलीबाहेक क्रिप्टोको कारोबारमा संलग्न नेपालीको हकमा राष्ट्र बैंक ऐनअनुसार थप कसुर लगाउन राय दिइएको छ ।

सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले अन्तरदेशीय अपराधको सञ्जाल खडा गरेका तस्करले सुन भित्र्याउने गरेको पाइएको र त्यसको पहिलो चरणको अनुसन्धान टुंग्याएर सरकारी वकिललाई रायसहित प्रतिवेदन बुझाइएको बताउनु भयो । बज्राचार्यले पछिल्लो सुन तस्करीको अनुसन्धानबाट आपराधिक सञ्चालको साम्राज्य तोड्न सीआईबी सफल भएको दाबी पनि गर्नुभएको छ ।
एआईजी बज्राचार्यले सुन तस्करीमा चीन, हङकङ, मकाउ, ताइवान, दुबई, भारत, नेपाललगायतका मानिस संलग्न रहेको बताउजु भयो ।
सुन तस्करले नेपालमा प्रभावशाली व्यक्तिहरूकै सम्बन्ध÷सम्पर्कको आड लिएर अपराधको सञ्जाल चलाउने गरेको पुष्टि भएको पनि उहाँको भनाई छ ।
सीआईबीले सुरुमा बरामद ६० केजी ७ सय १६ ग्राम सुन भएका ब्रेक–सुको अनुसन्धान गर्दा थप बरामद सुबाट ३ सय २ केजी ६२ ग्राम सुन निकालिएको पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ । सीआईबीले बरामद भएको र तस्करले गन्तव्यमा पुर्याएका सुनको बजार मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम गरेर बिगो मागदाबी लिन भनेको छ । यस्तै अवैध सुन ल्याउन प्रयोग भएका ब्रेक–सुको भन्सारमा घोषणा गरिएको मूल्य र करसमेत गरी थप २८ लाख ७५ हजार ४ सय २३ रुपैयाँ पनि बिगोकै रूपमा राख्न भनेको छ ।
सीआईबीले अनुसन्धानमा परेकामध्ये २५ र फरार १८ लाई प्रतिवादी बनाएर मुद्दा चलाउने गरी रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको छ । ३२ जना पक्राउ परेकामध्ये तस्करीमा संलग्न नरहेका र आपराधिक समूहबाट लाभ नलिएका तर सम्पर्क भेटिएका ७ जनालाई मुद्दा नचलाउन राय दिइएको छ । सुन बोक्न प्रयोग गरिएको ट्याक्सीका चालक अशोक लामा, कमिसन लिएर चिनियाँलाई घर खोज्ने काममा संलग्न नरेश तामाङ, ट्रान्स ग्लोबलका सञ्चालक राजनकुमार श्रेष्ठ, विमानस्थल भन्सारका उपसचिव श्रीधर टण्डन, भन्सार अधिकृत पुष्पा जोशी, नासु कमल परियारको तस्करसँग सम्बन्ध रहेको तथ्य र प्रमाणले नदेखिएकाले मुद्दा नचलाउन राय दिइएको छ ।
सीआईबीका अनुसार भन्सारका ५ कर्मचारीसमेत प्रतिवादीको सूचीमा छन । कृष्णकुमार श्रेष्ठ, दिलीप भुजेल, कुमार ढकाल (कर्मचारी), पुष्करराज भट्ट, सन्तोष चन्द, (कर्मचारी) सरोज श्रेष्ठ (कर्मचारी), गणेशप्रसाद पौडेल (कर्मचारी), यादव पराजुली, राजेन्द्रकुमार राई, रामकुमार भुजेल, सुदर्शन गौतम, हर्कराज राई, किशोर बस्नेत, वीरेन्द्र नेपाली (कर्मचारी), सुमन खरेल, शिवकुमार सर्राफ, विदेशी नागरिकहरू तिब्बती मूलका भारतीय छिरिङ थुप्तिनलाई मुद्दा चलाउन भनिएको छ ।
यस्तै चिनियाँ नागरिकहरू अली भनिने ली वेन सुङ, लिन जिक्वाङ, योङ वेन, मी तियान, स्टेप्स भन्ने ली नेङकाई, सरतेन भन्ने दिङ सेङफा, चिनियाँ मूलका बेल्जियन नागरिकद्वय एलेक्स भन्ने याओ फुचेङ र दावा छिरिङविरुद्ध मुद्दा चलाउन भनिएको छ । तस्करीको सुनबाट प्राप्त पैसा दावा छिरिङ, दावाजिन वाङ, शिव सर्राफ, सुमन खरेल र एलेक्समार्फत विभिन्न डिजिटल मुद्रामार्फत भुक्तानी र व्यवस्थापन हुने गरेको भेटिएको छ ।
तस्करीमै संलग्न तर हाल फरार सूचीमा रहेका भोला साह (सोनार), जीवन चलाउने, सुन तस्करका नाइके दावा छिरिङकी पत्नी अमला रोका, चिनियाँहरू जोङ जियानहुवा, साम भन्ने झोङ जिङछुवान, पेङ लिङ फेङ, दावाजिन वाङ, आसीन भन्ने पेङ योङ सिन, पूरा नाम नखुलाइएका ली, लीन, माइकल झाङ, एरिक माओ, टेडी, लुओरोङ गोंबु, बिङ, भारतीय नागरिक राकेश सिंह, राजु माडवारी र योगी इन्टरप्राइजका सञ्चालक ब्रिस्लेरी वालालाई पनि प्रतिवादी बनाउन भनिएको छ ।
सुन ल्याउन गिरोहले विपन्न व्यक्तिलाई प्रलोभन दिएर काठमाडौंमा छुङगाक इलेक्ट्री सप्लायर्स, भुजेल इलेक्ट्रिक, ह्वादा इलेक्ट्रिक, पवाटी इलेक्ट्रिक, दोलखा इलेक्ट्रिक, रेडी ट्रेड र सरिता सप्लायर्स स्थापना गरेको भेटिएको पनि प्रहरीले जनाएको छ ।
यी फर्मबाट १ वर्षमा साढे ३ अर्ब बढीको सुन भित्रिएको अनुसन्धानबाट पुष्टि भएको हो । सीआईबीले सुन निकालिएका ब्रेक–सु मात्रै १ हजार १ सय ८० थान र सुन गाल्ने १० थान मेसिन बरामद गरेको छ । सुन तस्करी गर्नकै लागि २०७९ चैत १९ मा दिलीप भुजेलका नाममा रेडी ट्रेड फर्म दर्ता गरिएको थियो । ब्रेक–सु, इलेक्ट्रिक आइटमलगायत सामान ल्याउने भन्दै खोलिएको फर्मबाट तस्करले सुन लुकाएर ल्याउने गरेको भेटिएको थियो ।













प्रतिक्रिया दिनुहोस्