जनता टाइम्स

२४ भाद्र २०७६, मंगलवार १३:०१

प्रधानमन्त्री ओली–मोदीले गर्नुभयो एकसाथ स्वीच थिचेर नेपाल–भारत पेट्रोलियम पाइपलाइन उदघाटन


काठमाडौं, भदौ २४ । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज उदघाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उदघाटन गर्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’ मार्फत एकैसाथ स्वीच थिचेर पेट्रोलियम पाइपलाइन परियोजनाको उदघाटन गर्नुभयो । उदघाटनसँगै भारतका मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ । यो पाइपलाइन दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजनासमेत हो ।

नेपाल आयल निगमका अनुसार पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइनेछ । त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ । मोतिहारी–अमलेखगञ्ज पाइप लाइनको दूरी ६९.२ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ ३६.२ र भारततर्फ ३३ किलोमिटर रहेको छ । पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजनाले जनाएको छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौं ढुवानी खर्च जोगिने तथ्यांक यसअघि नै सार्वजनिक भइसकेको छ ।

आयल निगमका अनुसार पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुनेछ । पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानी लागतको न्यूनीकरणले पेट्रोलियम पदार्थको उपभोक्ता मूल्यसमेत घटेको छ । आजै मध्याह्नदेखि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ घटाएको छ । देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको छ ।

परियोजनाको उद्घाटनका क्रममा निगमका कार्यकारी निर्देशकसहितको उच्च प्राविधिक टोली अमलेखगञ्जमा रहेको छ । निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिएर रहेको थियो ।

सन् २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र उहाँका भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण सुरु भएको हो । सो परियोजना निर्माणमा नेपाल र भारत सरकारले अत्यन्त चासो व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा नयाँ दिल्लीबाट दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा पाइप लाइन परियोजनाको शिलान्यास गर्नुभएको थियो । परियोजनाको लागत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँ रहेको छ । यो परियोजनालाई प्रधानमन्त्री ओलीले बिशेष चासोको रुपमा लिनुभएको थियो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सो कार्यक्रममा मन्त्रिपरिषद्का सदस्य, विभिन्न मन्त्रालयका सचिवलगायत नेपाल सरकरका उच्चपदस्थ अधिकारीको सहभागिता रहेको थियो।