यसिमा महत/ काठमाडौं । अहिले पितृपक्ष अर्थात सोह्र श्राद्ध चलिरहेको छ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्षमा देखाउनकै लागि पनि श्राद्ध तर्पण गर्ने प्रचलन छ । तर, ओम समाज डेन्टल हस्पिटलका सञ्चालक एवं वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरेलाई सधैं पितृपक्ष रहेको हुन्छ । हो ! उहाँका लागि सधैं पितृपक्ष, सधैं सोह्र श्राद्ध ।
मुख्य कार्यालय चावहिलमा अवस्थित ओम समाज डेन्टल हस्पिटलको काठमाडौंमै पनि विभिन्न स्थान र बर्दिवासमासमेत गरी दर्जनबढी शाखाले दन्त सेवा दिइरहेको छ । ती सबै हस्पिटलको मुलढोका र हस्पिटलको विरामी जाँच्ने पुर्जीमासमेत उहाँले आफ्नो दिगंवत मातापिताको फोटो राख्नुभएको छ । उहाँ भगवानका रुपमा आफ्नो बुवाआमालाई मान्नुहुन्छ । त्यसैले विरामी जाँच्दा होस वा हस्पिटल प्रवेश गर्दा उहाँ आफ्नो बुवाआमालाई स्मरण गर्नुहुन्छ । त्यसैले उहाँका लागि सधैं पितृपक्ष भनिएको हो ।
भनिन्छ नि, पितृको आशिर्वाद पाउने व्यक्तिले कहिल्यै असफलता र अपजस भोग्नु पर्दैन । यही कारणले होला डा. सुभाष ले कहिल्यै असफलता र अपजस भोग्नु परेको छैन । उहाँ सिद्धहस्त र अनुभवी दन्त चिकित्सकका रूपमा चिनिनुहुन्छ । कतिपय दाँतका समस्या भएका विरामी त डा. सुभाषले समस्या सुनिदिए वा दाँत हेरिदिए मात्र पनि आधा दुखाई कम भएको महसुस गर्दछन् । डा. सुभासलाई एउटा दन्त चिकित्सक वा पितृभक्त मात्र भन्दा पनि उहाँको परिचय अपूर्ण हुन्छ । वास्तवमा उहाँ बहुआयामिक व्यक्तित्व हो ।
समाजसेवी व्यक्तित्व
कतिपय ठान्दा हुन् डा. सुभाषले यतिका हस्पिटलबाट कति कमाएको होला ! यत्रो पैसा कहाँ राख्नुभएको होला ! तर, उहाँलाई चिन्नेको मनमा यस्तो प्रश्न आउँदैन किन थाहा छ ? उहाँले १८ पुराणका लेखक महर्षि ब्यासको भनाईलाई ब्यवहारमा अनुसरण गर्नु भएको छ । ब्यास ऋषिकाअनुसार ‘परोपकाराय पुण्याय, पापाय परपीडकम्’ भन्ने १८ पुराणको सार हो, भने यो श्लोक डा. सुभासको जीवन दर्शन हो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘फर्क फर्क हे, जाउ समाउ मानिसहरूको पाउ, मलम लगाउ आर्तहरूको चहर्याइरहेको घाउ’ भन्ने पंक्ति पनि डा. सुभासकै लागि रचिएको जस्तो लाग्छ । उहाँले आफूलाई समाजसेवामा समर्पित गर्नुभएको छ । आफू दन्त चिकित्सक भए पनि उहाँले कहिले शारीरिक अशक्तहरूलाई ह्विल चियर त कहिले दिनदुःखीलाई खाद्यान्न, लत्ताकपडा बाँढ्दै आउनुभएको छ ।
उहाँ भन्नुहुन्छ ‘जसले जति कमाउँछ त्यसको केही अंश दान गर्नुपर्छ । दान गरेर, दिनदुःखीलाई सहयोग गर्दा सम्पति घट्दैन बरु बढ्छ ।’ समाजसेवामा तल्लिन डा. घिमिरे कोभिड–१९ को पहिलो र दोस्रो चरणको समयमा त झन बिरामीको लागि आफुले देश र राष्ट्रको लागि केही गर्नुपर्छ भन्ने हुटहुटिसहित निःशुल्क उपचारदेखि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नु भएको थियो ।
उक्त महामारीको समयमा समाजसेवामा तल्लिन डा. घिमिरेले अहिले नगरे कहिले गर्ने भन्दै घर–घरमा पुगेर अन्य विशिष्ठ चिकित्सक संगसंगै सामाजिक अभियन्ताका रुपमा पनि काम गर्नुभयो । ओम समाज डेन्टल अस्पतालले लकडाउनका समयमा अत्यावश्यक सेवा बिरामीको घरमै पुगेर दिएको थियो । नेपाल सरकारले पनि उहाँको यही समाजसेवी भावनाको कदर गर्दै राष्ट्रपतिबाट ‘जनसेवा श्री’ पदकले विभूषित गरेको थियो भने चन्द्रागिरी नगरपालिकाले ‘चन्द्रागिरी रत्न’ ले सम्मानित गरेको थियो ।
दाँत रोगका भगवान
उहाँ सामाजिक सञ्जालहरूमा पनि मुख स्वास्थ्यको बारेमा सल्लाह, परामर्श दिन सक्रिय देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘एउटा मान्छेको दाँत र गिजालाई स्वस्थ राख्नको लागि सबैभन्दा पहिले उसको जीवनशैलीलाई परिवर्तन गर्नुपर्छ ।’ उहाँको सल्लाह छ, ‘विहान चाँडै उठ्ने, नियमित व्यायाम गर्ने, सकारात्मक सोचाइ राख्ने, चिन्ता नलिने गर्नाले मुखको मात्र होइन मानव स्वास्थ्यका धेरै समस्या आफै समाधान हुन्छन् ।’ उहाँ मानिसले कम्तिमा दैनिक दुई पटक ब्रस गर्नुपर्ने पनि बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ ,‘धेरैले कि बिहान मात्र कि खाना खाएपछि मात्र ब्रस गर्छन । राति सुत्नुअघि ब्रस गर्यो भने हामीले खाएको खाना दाँतमा जम्मा हुन पाउँदैन । बिहान ब्रस गर्दा रातमा आफैं जम्मा हुने किटाणुले असर गर्न पाउँदैन् ।’ दाँतको उपचार महँगो हुने भएकाले राम्रो हेरचाह, समयमै यसको उपचार गर्दा पैसा कम खर्च हुने उहाँले सुनाउनुहुन्छ ।
उहाँ थप्नुहुन्छ ,‘दाँत समस्याको अर्को प्रमुख कारण भनेको चुरोट, खैनी, रक्सी आदिको सेवन पनि हो त्यसैले यसलाई तत्काल बन्द गर्नुपर्छ ।’ उहाँ बासी खानेकुराहरू नखाने, प्याकेटमा राखिएका खानेकुराहरू नखाने र खानेकुरा आफैँमा ब्रस हुने बताउनुहुन्छ । सरकारले अन्य रोगलाई जसरी मुख स्वास्थ्यलाई पनि रकम छुट्याउनुपर्ने उहाँको जोड छ ।
‘पहिलेका मानिसहरु ब्रस नै गर्दैनथे । तर पनि उनीहरुको दाँत बलिया हुन्थ्ये । उनीहरु प्राकृतिक खानेकुरा बढी खान्थे । तर अहिलेका मानिसले ब्रस गर्न जाने, उपचार गर्न जाने तर प्राकृतिक खानेकुरा खान बिर्सिए । प्राकृतिक खानेकुराले हाम्रो दाँतलाई सधैँ सफा र स्वस्थ राख्न मद्धत गर्छ । त्यसैले अब सबैले खानेकुरामा ध्यान दिन जरुरी छ’ उहाँको जोड छ ।
डा. घिमिरेले राम्रो खाने पनि मुख, नराम्रो खानेपनि मुख, राम्रो बोल्नेपनि मुख, नराम्रो बोल्ने पनि मुख भएको भन्दै बोल्न र खान विशेष ध्यानदिनुपर्ने बताउनुभयो । मुख स्वास्थ्य मात्रै ख्याल गर्ने हो भने झण्डै ९० प्रतिशत रोग नलाग्ने भन्दै उहाँले बासी खानेकुराहरू नखान, प्याकेटमा राखिएका खानेकुराहरू नखान, चिनीजन्य गुलियो पदार्थ नखान अनुरोध सम्पूर्णलाई गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्