जनता टाइम्स

२२ आश्विन २०८०, सोमबार १७:३२

हमास नियन्त्रित क्षेत्रबाट इजरायली सेनाले गर्यो ३२ नेपाली विद्यार्थीको उद्धार


काठमाडौं, असोज २२ । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो ।

उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालले सामाजिक सञ्जालमा दिएको जानकारीअनुसार उनीहरुलाई राजधानी तेल अभिभतर्फ लगिएको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । उनीहरुकै समूहका १० जनाको आक्रमणमा मृत्यु भएको थियो । यो टोलीमा ४९ जना थिए ।

’बंकरबाट निकालेर हामी सबैलाई सुरक्षित स्थानतर्फ लगेको छ,’ रिजालले भन्नुभयो, ’अलग अलग क्याम्पबाट उद्धार गरिएको हो ।’ अब सुरक्षित स्थानतर्फ लागेकाले ढुक्क हुने अवस्था रहेको रिजालले बताउनु भएको छ ।

उद्धार गरिएका अर्का एक विद्यार्थी नितिन भण्डारीका अनुसार १३ जनालाई बेतकाम क्षेत्रमा ल्याएर राखिएको छ । भण्डारीले अरु साथीहरु आउने क्रममा रहेको जानकारी दिनुभयो । ’हामीहरु सुरक्षित छौं साथीहरुसँग बसेर कुराकानी गरिरहेका छौं,’ भण्डारीले भन्नुभयो, ’हामी सबैलाई भेला गरेर तेलअभिभ लैजाने तयारी छ ।’