काठमाडौं, असोज २२ । मानव अधिकार तथा शान्ति समाजले सोमबार दिउँसो राष्ट्रपति कार्यालय शितल निवास अगाडि विरोध प्रदर्शन गरेको छ ।
संविधानको धारा २७६ मा निहित राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न र कैद माफी गर्दा तलदेखि माथिसम्म भएको सम्भावित आर्थिक चलखेलबारे गहिरो छानबिन गर्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनमा शान्तिवादीहरूले ‘राष्ट्रपति महोदयः न्यायको सार्वभौम मान्यताविपरीत माफी मिनाहाको घोषणा किन ?, लोकतान्त्रिक गणतन्त्रप्रति आस्था बढाउने कि वितृष्णा फैलाउने ?, कैदमाफी मिनाहाको नाममा राज्यबाट भइरहेको अपराधको पर्दाफास गरौँ, हत्या हिंसा महिमामंडन गर्न पाइँदैन, हत्यालगायत जघन्य अपराधमा कैद माफी मिनाहा हुन सक्दैन लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।
सो क्रममा प्रहरीले सहभागीहरूमध्येबाट शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, महासचिव रेनुका पौडेल, कोषाध्यक्ष किरण ढकाल, सचिव चन्द्रमणि बञ्जारा, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाडौं शाखा सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरू रिता अधिकारी, मधु पुडासैनी, लक्ष्मण पुडासैनीसहित ११ जनालाई नियन्त्रणमा लिएको थियो ।













प्रतिक्रिया दिनुहोस्