जनता टाइम्स

२८ आश्विन २०८०, आईतवार १४:०१

‘एनआरएन द सिंगर’को विजेता आइतबार घोषणा हुने


काठमाडौं, २८ असोज । रियालिटी शो ‘एनआरएन द सिङगर’ को ग्रान्ड फिनालेको तयारी पूरा भएको छ । आज दिउँसो काठमाडौंमा लाइभ प्रस्तुतिपछि विजेता र उपविजेताहरुको टुंगो लाग्नेछ । ‘एनआरएन द सिंगर’ को सुरुमा अडिसनका लागि खुलारुपमा एनसीसीमार्फत आह्वान गर्दा ८७ देशका एनसीसीहरुलाई पत्राचार गरिएको थियो । त्यसमा ३७ देशबाट अडिसनका लागि वेबसाइट, इमेल र ह्वाट्सएपबाट ३०० बढीको आवदेन परेको थियो ।

त्यसमध्ये आयोजक र जज मिलेर उत्कृष्ट ४० जनाको छनोट गरिएको छ । उत्कृष्ट ४० जनाको प्रस्तुति टेलिभिजनमा प्रसारण भएपछि ३ जना निर्णायक शम्भु राई, शर्मिला बर्देवा र रुपककुमार शाही समुदाले उत्कृष्ट २० जनालाई अर्को चरणमा प्रवेश गराउनुभएको थियो । २० जनाको प्रतिस्पर्धामा ५ जना बाहिरिएपछि उत्कृष्ट १५ मा पुगेका थिए भने उत्कृष्ट १५ बाट अहिले ग्रान्ड फिनालेसम्म आइपुग्दा अनलाइन भोटिङको पनि व्यवस्था गरिएको थियो ।

फिनालेका लागि ५ प्रतिस्पर्धीले आफ्नो प्रतिभा प्रदर्शन गरिसकेकाले आइतबार अपरान्ह ५ बजेसम्म अनलाइन भोटिङको व्यवस्था गरिएको छ । ५ वजेभित्र सर्वाधिक भोट ल्याउने प्रतिस्पर्धी नै एनआरएन द सिंगरको पहिलो विजेता हुने छन् । ग्रान्ड फिनालेको प्रत्यक्ष प्रसारण सामाजिक सञ्जालबाट हुने छ भने स्पेस फोर के टेलिभिजनमार्फत पनि प्रसारण हुनेछ ।

कर्मा दोङ तामाङ, विष्णु क्षत्री, सुवासचन्द्र पुनमगर, गुना मगर निसु र युक्ती विमलीले ग्रान्ड फिनालेका लागि स्थान पक्का गरेका छन् । ग्रान्ड फिनालेका लागि आइतबार दिउँसो मेरियट्स होटेलमा कार्यक्रम तय गरिएको कार्यक्रम उत्पादक युनिटेकका सुरज राइले जानकारी दिनुभयो । काभ्रे घर भइ जापान बस्ने ३० वर्षीय कर्मा दोङ तामाङ अहिले जापानमा विद्यार्थी भिसामा रहेर काम गरिरहेका छन् ।

विदेशमा बसेपनि नेपाली गीत संगीतबाट कहिल्यै टाढा नभएका तामाङले फिनालेमा पुग्नका लागि राजु लामाको चर्चित गीत ’गाउँकी चेली साह्रै नै राम्री फरिया र चोलोमा झनै राम्री’ बोलको गीत प्रस्तुत गरेका थिए । पर्वतमा जन्मिएका विष्णु क्षत्री १५ वर्षदेखि युरोपको नर्वेमा बस्दै आएका छन् । विदेशमा काम गर्दै गर्दा पनि नेपाली गीत संगीतलाई माया गरेका क्षत्रीले एनआएन द सिङगरको फाइनलमा पुग्दै आफूलाई फेरि एक पटक अब्बल सावित गर्नुभएको छ ।

उहाँले फाइनलमा पुग्नका लागि रामकृष्ण ढकालको आरोह एल्बमको ’हिरा काट्ने हिरैमा राखेर’ बोलको गीतलाई सुन्दर ढंगले प्रस्तुत गर्नुभएको थियो । भोजपुरमा जन्मिएकी गुना मगर वैदेशिक रोजगारीका लागि कतारको दोहामा रहँदै आउनुभएको छ । आफ्नो गाउँघर बन पाखालाई सम्झदै कामबाट थोरै फुर्सद हुँदा गीत संगीतका माध्यमबाट आफूलाई विदेशी भूमिमा चिनाउने प्रयास गर्दै गर्नुभएको गुनाले फिनालेमा स्थान बनाउनका लागि इन्डियन आइडल जितेका प्रसान्त तामाङले गोरखा पल्टन चलचित्रका लागि गाएको ’ज्यान सुहाउन लाको चोली तानसेन बजारैको’ बोलको गीत प्रस्तुत गर्नुभएको थियो ।

बेलायतमा जन्मिनुभएको युक्ती विमली नेपाली भाषामा पोख्त नभए पनि सानै उमेरदेखि नेपाली संगीतमा भने रुची राख्नुहुन्थ्यो । बेलायतमा हुने विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुमा प्रस्तुती दिनुभएको युक्तिले ग्रान्ड फिनालेमा स्थान बनाउन शिशिर योगीको ‘छाडेर काम सारा एक मानिस खोजी रहेछु’ बोलको चर्चित राष्ट्रिय गीत प्रस्तुत गर्नुभएको थियो ।

रोल्पामा जन्मिएका सुवासचन्द्र पुन मगर परम्परागत सोरठी नाचका गुरु आफ्नै हजुरबुवा र बाबा भएका कारण गीत संगीतमा रुची बढेको बताउँनुहुन्छ । अहिले रोजगारीको शिलसिलामा पोर्चुगलमा रहनुभएको मगरले फिनालेमा स्थान बनाउनका लागि रोहित थापाले गाएको ‘घर त मेरो यहाँ होइन’ बोलको गीत प्रस्तुत गर्नुभएको थियो । समग्रमा १० जनाले प्रस्तुती दिएकोमा फिनालेका लागि ५ जना छनोट भएका हुन् । उत्कृष्ट १० बाट ग्रान्ड फिनालेमा पुग्दा ७५ प्रतिशत भोटिङ र २५ प्रतिशत निर्णायकको अंकले काम गरेको थियो ।

तर अब ग्रान्ड फिनालेमा ५ जनाबीच प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ पहिलो उपाधि जित्ने छन् । उपाधि जित्नले नगद रु ५ लाख प्राप्त गर्दा फस्ट रनरअपले रु २ लाख र सेकेन्ड रनरअपले रु १ लाख नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र पाउने एनआरएन द सिङ्गरका प्रमुख संयोजक गोविन्द प्रसाद गौतमले जानकारी दिनुभयो । ग्रान्ड फिनाले आज काठमाडौंमा आयोजना गरिने कार्यक्रमका उपसंयोजक प्रवीण गुरुङले बताउनुभयो ।

‘प्रवासमा रहेका उत्कृष्ट प्रतिभा पहिचान गरी नेपाली भाषा, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा दर्शकहरुले देखाउनु भएको स्नेहबाट हामी अत्यन्तै उत्साहित भएका छौं,’ गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) का सचिव तथा संघको संस्कृति तथा सम्पदा समितिका अध्यक्ष समेत रहेका गौतमले भन्नुभयो । झन्डै २ वर्ष पहिलेदेखि तयारी गरिएको यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न उहाँले सबैलाई आग्रह पनि गर्नुभयो ।