महोत्तरी, २८ असोज । नरहरि गौतमले सुरु गरेको सानो चिया पसलबाट जीविकोपार्जन होला कि नहोला भन्ने विषयमा उहाँका छोरा हिरा गौतम आफैँलाई विश्वास थिएन । करिब चार दशकअघि बसमा यात्रारत यात्रुहरुलाई खाना खुवाउने, चिया पकाउने जस्ता काम गर्दागर्दै उनी आफैँलाई अनौठो लाग्थ्यो । बुबाले व्यापार नै जिन्दगीको सबथोक भएको सुनाएपछि हिराले जिन्दगीको परीक्षण होटलबाट नै प्रारम्भ गर्ने निधो गर्नुभयो ।
त्यसपछि २०५२ सालबाट सुरु भएको गौतमको होटल व्यवसायको यात्रा बुबा नरहरिले भनेजस्तो जिन्दगीको सबथोक मात्र बनेन गौतम होटल पहिचान र प्रतिष्ठाको राष्ट्रिय ब्राण्ड नै बन्यो । हुन त हरेक सफलताको पछाडि असफलता, संघर्ष, आत्मविश्वास, निराशा र धैर्यताको कथा हुन्छ । गौतमको अहिले धनुषाको लालगढस्थित करिब ५० करोड लगानीमा खुल्दै गरेको चारतारे होटलसम्मको यात्रामा आइपुग्दा यस्तै अनेकौँ कथाहरुले भरिपूर्ण छन् ।
निराशा र अनेकौं असफलताका बाबजुत पनि निरन्तर संघर्ष र धैर्यताले सफलताको शिखरमा पुर्याएको उहाँको अनुभव छ । त्यसैले त उहाँले बुझेको जिन्दगी के हो भने सफलताको लडाईंमा संघर्ष र धैर्यता नै मुख्य अस्त्र हुन् । ४४ वर्ष अगाडि बुबा नरहरिले संचालन गरेको सोही होटल संचालनको अभिभारा काँधमा बोकेर नयाँपनको खोजीमा दौडेका हिराले चारतारे होटलसम्म आइपुग्दा असंख्य अफ्ठ्यारा चुनौतीहरुको अनुभव संगालेका छन् ।
यही अनुभवले बनाएको परिपक्वता नै गौतम होटल राष्ट्रिय ब्राण्ड बन्यो भने चारतारे होटलको रुपमा लालगढमा अर्को विशाल गौतम होटलको जन्म भयो । सामान्य चिया, नास्ता बेच्ने होटल देशको नै ब्राण्ड बन्ला भन्ने बुबा स्वयंले परिकल्पना गरेका थिएनन् । ‘छोरा यति धेरै दत्तचित्त भएर लाग्ला र होटलबाट नै आफ्नो भविष्य बनाउला भन्ने सोचेको नै थिइनँ,’ बुबा नरहरिले भन्नुभयो,‘मासिक मुस्किलले ५ हजार आम्दानी हुने होटलमा अहिले दैनिक नै लाखौँ आम्दानी हुन्छ ।’
गौतम होटलको चर्चा बर्दिवासको चिनारीसँग मात्र जोडिएको छैन होटलभित्रको हस्पिटालिटी र गुणस्तरीयताले बाह्य र आन्तरिक पर्यटकको आकर्षणलाई ध्यानाकर्षणसमेत गराएको छ । मधेश प्रदेशका महत्वपूर्ण कार्यक्रमदेखि भीआईपीहरुको रोजाई गौतम होटल नै बन्नुले पनि हिराको मेहनत र सफलतालाई संकेत गर्दछ । ‘हाम्रो होटलमा देशका शीर्षनेतादेखि पूर्व राजासम्म बास बसेका छन्,’ हिराले भन्नुभयो, ‘हाम्रो लागि यो पनि गौरव हो ।’
होटल व्यवसायले हिरालाई यसरी सिखरमा पुर्यायो कि विगतमा यसरी गर्न पाएको भए थप काम गर्न सकिन्थ्यो कि भन्ने गुनासो गर्ने ठाउँ नै रहेन, जस कारण उनलाई सधैँभरि नयाँ गर्न नै हौस्यायो । यसैको परिणाम स्वरूप नै चियानास्ता बेचेर सामान्य जीविकोपार्जन हुँदै आएको होटललाई ब्राण्ड बनाउनु र सुविधा सम्पन्न शाखाहरु विस्तार गर्नु आफैंमा अनुकरणीय छ ।
७ सय रुपैयाँबाट बुबा नरहरिले खोलेको होटललाई अर्बैं रुपैयाँको चारतारे होटल बनाउन हिराले गरेको अथक प्रयास, संघर्ष र मेहनतले होटलमात्र हैन बर्दिवासमा अहिले समग्र गौतम परिवार नै ब्रान्ड बनेको छ । सामाजिक कार्यमा आफूलाई उत्तिकै सक्रिय बनाएका हिरा नगर पर्यटन बोर्डको अध्यक्ष हुन् भने होटल तथा पर्यटन व्यवसायी मधेश प्रदेशका अध्यक्ष पनि हो । होटल हवको रुपमा विकास भइरहेको मधेश प्रदेश विशेषगरि बर्दिवासमा मात्र ५० भन्दा बढी ठूलो लगानीमा खुलेका होटलहरु छन् ।
के–के विशेषता छन् चारतारे होटलको ?
धनुषाको लालगढमा उदघाटनको तयारीमा रहेको चारतारे गौतम होटलमा अहिलेसम्म ३५ करोडभन्दा बढी खर्च गरिसकेको हिरा बताउँछन् । उहाँका अनुसार करिब ५० करोड लागत अनुमान गरिएको छ । ७६ वटा कोठा, हल, मनोरञ्जनस्थल र चारतारे होटललाई चाहिने सम्पूर्ण मापदण्डमा आधारित भएर निर्माण भइरहेको उहाँले बताउनुभयो ।
होटेललाई हरितमैत्री बनाउन कलकत्तावाट ल्याइएका उच्च अक्सिजन दिने बिरुवा रोपिएको छ । करिब एक बिघा क्षेत्रफलमा निर्माण भएको संरचनामा धेरैजसो हरितमैत्री बनाउने प्रयास गरिएको छ । दशैँपछि लगत्तै ४० वटा कोठासहित उद्घाटन गरिने र बाँकी अर्को भवनमा रहेको ३६ वटा कोठा सम्पन्न भएपछि पूर्ण संचालनमा ल्याइने होटलका व्यवस्थापक निरज सुवेदीले जानकारी दिनुभयो ।
छोराको कर्मप्रति गर्व छ : नरहरि गौतम
होटेल व्यवसायमा छोरा हिराको कर्म र लगनशीलताप्रति आफूलाई गौरवान्वित हुने बुबा हरि गौतम बताउँछन् । ‘मैले छोराप्रती गौरव गर्ने धेरै कारण छन्,’ उहाँले भन्नुभयो,‘पहिले त उ इमान्दार बन्यो ।’ ३४ बर्ष अगाडि चिया पसलमा बसेर सहयोग गरेको सम्झँदै नरहरिले छोराले आफूले चलाएको होटललाई यति ठुलो बनाउला भन्ने सोचेका नै थिएनन् ।
‘ठूला–ठूला होटलमा जान्थ्यो । त्यतिवेला अलि पैसा पनि खर्च गर्यो,’ विगत सम्झदैँ उहाँले भन्नुभयो, ‘मैले पछि पो थाहा पाएँ, त्यहाँ जानुको उद्देश्य होटल कसरी चलाउने भन्ने सिक्न पो रहेछ ।’ नरहरि पुराना राजनीतिज्ञ पनि हुन् । २०३९ साल, २०४३ सालमा तत्कालिन बर्दिवास–३ को उहाँ वडा अध्यक्ष समेत बन्नुभयो । २०५२ सालमा छोरा हिराले गौतम होटल नाम राखेर औपचारिक रुपमा चलाएपछि नरहरिले सन्तुष्टिको श्वास फेरेको बताउँछन् ।













प्रतिक्रिया दिनुहोस्