जनता टाइम्स

३० आश्विन २०८०, मंगलवार ०८:२९

जानकारी नदिई मूल्य घटाएको भन्दै पम्पहरूले रोके पेट्रोल बिक्री


काठमाडौं, ३० असोज । सोमवार देशभरका सडकमा सवारीसाधनहरुले पेट्रोल पम्प छिर्दा तेल हाल्न पाएनन् । देशभरका अधिकांश पम्पमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसिएको थियो । नेपाल आयल निगमले नियमित रूपमा आपूर्ति गरिरहेकोमा किन पम्पहरूमा पेट्रोल सकियो त ? तर यसको खास कारण अर्कै छ । आइतबार साँझ नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाउने निर्णय गर्‍यो ।

निगमले डिजेलको मूल्य लिटरमा ५ र पेट्रोलको मूल्य लिटरमै ११ रूपैयाँले घटाउने निर्णय गरेको थियो । तर, काठमाडौं उपत्यकाकासहित देशैभरका पम्पहरूले आफूहरूलाई ‘जानकारी नै नदिई’ एक्कासी मूल्य घटाएको भन्दै निगमलाई दबाब दिन पेट्रोल बिक्री रोके । काठमाडौं स्युचाटारका सुदीप श्रेष्ठ टेकुमा रहेको कनक पेट्रोल पम्पमा पेट्रोल हाल्न छिरे र तर पम्पमा पेट्रोल नभएको सूचना टाँसिएको थियो । ‘अन्त त परको कुरा नेपाल आयल निगमको केन्द्रीय कार्यालयको २० मिटर अगाडिको कनक पेट्रोल पम्पले समेत पेट्रोल बिक्री गरेन,’ श्रेष्ठले भने । हेटौंडाका टिकाराम लामाले पनि पेट्रोल किन्न नपाएको बताए । तेल भर्न पम्प पुग्दा ताला लागेको भन्दै उनले फेसबुकमा लेखेका छन् ‘सरकारले पेट्रोलको भाउ घटाउने पेट्रोल पम्पवाला पम्प बन्द गर्ने । हामी जनता जताबाट पनि मर्ने,’ लामा लेख्छन् ‘हेटौड़ा सबै प्रेटोल पम्प बन्द छ । अब यसको जिम्मेवारी कसले लिने ? सम्बन्धित निकायको ध्यान कता छ ?कालाबजारी गर्नेलाई कस्ले तह लगाउने ?’

यता नेपाल आयल निगमले बजारमा पर्याप्त आपूर्ति रहेको बताएको छ । आयल निगमले तेल वितरण नगरेको र बजारमा अभाव भएको भन्ने कारणबाट उपभोक्ताले तेल नपाउने अवस्था सत्य नभएको दाबी गरेको छ । अत्यवश्यक सेवा ऐनलाई टेकेर सरकारले २५ प्रकार सेवालाई बन्द हड्ताल र आपूर्ति व्यवस्थामा आवरोध पुर्‍याउन रोक लगाएको छ । जसअनुसार पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था पनि छ । ऐनअनुसार पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था अवरोध गर्नु सार्वजनिक अपराध हो । त्यसो त नेपाल आयल निगमको बिक्रेता बिक्रेता विनियमावलीले पनि इन्धनको आपूर्पि व्यवस्थामा अवरोध पुर्‍याउन नपाइने व्यवस्था गरेको छ । आपूर्तिमा अवरोध गरे निगमले जरिवानादेखि बिक्रेता अनुमति खारेज गर्न सक्नेसम्मको व्यवस्था विनियमावलीमा गरिएको छ ।
तर, सोमबारको अवरोधबारे थप जानकारी आई नसकेको हुनाले कारबाहीबारे अहिल्यै बोल्न हतार हुने निगमले जनाएको छ ।