जनता टाइम्स

३ कार्तिक २०८०, शुक्रबार १८:१७

क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला पक्राउ


काठमाडौं, कात्तिक ३ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । बास्तोलाले चलाएको सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि प्रहरीले पक्राउ गरेको हो ।

बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो ।

दाङ प्रहरीका अनुसार बिहीबार राति काठमाडौंबाट सुर्खेत जाँदै गरेको बा ९ च ७१९८ नम्बरको स्कारपियोले करिब पौने १० बजेतिर रा ६ प ५७८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरी घाइते हुनुभएको थियो ।

विपरीत दिशाबाट आएको मोटरसाइकललाई तीव्र गतीमा रहेको स्कारपियोले गलत दिशामा गएर ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट घाइते भएका चौधरीको लमहीस्थित अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।