काठमाडौं, कात्तिक १७ । सर्वोच्च अदालतले नेपालगञ्जका योगराज ढकाल ‘रिगल’ को आममाफी बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारतीले आफूलाई थप साहस दिएको बताउनु भएको छ ।
सर्वाेच्चले फैसला गरेको भोलिपल्ट आज काठमाडौंमा पत्रकार सम्मेलन गरी भारतीले आफूलाई धेरै बाधा, डर त्रास, धम्की र पैसाका बार्गेनिङहरू आएपनि अन्ततः न्याय पाएको बताउनु भयो । आफ्नो टीमले कुनैपनि लोभ लालचमा नलागीकन सहयोग गरेकाले न्याय मिलेको पनि भारतीको भनाई छ । उहाँले अन्यायमा परेका महिलालाई आफ्नो यस कामबाट प्रेरणा मिल्ने आशा जगाएको बताउनु भयो ।
‘बीचमा धेरै बाधा आए, धेरै डर त्रास, धम्की र पैसाका बार्गेनिङ आए । तर, मेरो टीमले मेरो साथ छोडेन । होइन भने मेरो कुनै भिडिओ बनाएर दिए पैसाको बिटो दिन्छौं भनेका थिए,’ भारतीले भन्नुभयो, ‘अन्यायमा परेको महिलालाई बाटो दे, अरु महिलाले पनि साथ पाए न्याय पाउँछन् भनेर कुनै स्वार्थमा नलागी लाग्नुभयो । पीडा नपरेको मान्छेलाई हो मा हो भन्ने तर साथ नदिने रहेछन् । म पछि हटे म जस्ता पीडित महिला धेरै छन्, म पछि हट्नु हुँदैन भनेर अघि बढेँ ।’
नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई सरकारले संविधान दिवसको अवसरमा असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिनुभएको थियो ।
मिनाहा गरिएको कैद सजाय पुनः भुक्तान गराउनू भनी सर्वोच्चले परमादेशसमेत दिएलगत्तै रिगल नेपालगञ्जबाट पक्राउ परिसकेका छन् । भारतीले अदालतले आफूलाई न्याय र यस्तै पीडित महिलालाई हौसला दिएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्