जनता टाइम्स

१७ कार्तिक २०८०, शुक्रबार १९:१४

दुर्गन्धित सत्ता गठबन्धनको सरकारमा एमाले बस्दैन : हिक्मत कार्की


काठमाडौं, कात्तिक १७ । नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिने घोषणा गरेको छ ।

एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशको सरकारमा नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीलाई सहभागी गराएपछि आफ्नो दलले सरकारमा नरहने घोषणा गर्नुभएको हो ।

एमालेको सहयोगमा मुख्यमन्त्री बन्नुभएका कांग्रेस नेता केदार कार्कीले गठबन्धन दलका शीर्ष नेताहरुको दबाबमा कोशी सरकारमा माओवादी र नेकपा एसबाट एक–एक जनालाई मन्त्री बनाउनु भएपछि कार्कीले यस्तो बताउनु भएको हो ।

‘हामीले गठबन्धनलाई होइन, कांग्रेससँग सहकार्य गरेका हौं, हाम्रो सहमतिबिपरित मुख्यमन्त्रीले मन्त्री बनाएपछि हामी सरकारमा रहने कुरा रहेन,’ एमाले संस्दीय दलका नेता कार्कीले जनताटाइम्स डटकमसँग भन्नुभयो, ‘यो गठबन्धन दुर्गन्धित छ । कोशीमा पनि मुख्यमन्त्रीले त्यही गठबन्धनलाई सरकारमा सामेल गराएपछि हामी त्यहाँ बस्दैनौँ,’ कार्कीले भन्नुभयो ।

उहाँले मुख्यमन्त्री कार्कीले आफूहरूसँग यस विषयमा कुनै परामर्श नगरेको जानकारीसमेत दिनुभयो । एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले पनि मुख्यमन्त्रीले एमालेको सहमति विपरीत सरकार विस्तार गरेको कारण आफूहरू नयाँ ढङ्गले अघि बढने निर्णयमा पुगेको बताउनु भयो ।