काठमाडौं, कात्तिक १८ । नेकपा एमालेले जाजरकोट भूकम्पपीडितको उद्धार तथा राहातमा जुटन हार्दिक अपिल गरेको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले आज बिज्ञप्ति जारी गरी यस्तो अपिल गर्नुभएको हो ।
गएराती ११ः४७ बजे जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट, रुकुम (पश्चिम) लगायतका जिल्ला र त्यसक्षेत्रका विभिन्न भागमा ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति पार्टी गहिरो दुःख व्यक्त गरेको पनि गौतमको बिज्ञप्तिमा उल्लेख छ ।
‘पछिल्लो विवरण अनुसार भूकम्पबाट १५० भन्दा बढी मानिसको दुःखद निधन भइसकेको छ भने सयौं घाइते भएका छन् । ठूलो सङ्ख्यामा घरहरू भत्कनुका साथै भौतिक पूर्वाधारहरूमा क्षति पुगेको छ,’ गौतमले बिज्ञप्तिमा भन्नुभएको छ, ‘हाम्रो पार्टी भूकम्पपीडितहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा बसोवासको व्यवस्था गर्न, पीडितहरूलाई राहत उपलब्ध गराउन तथा घाइतेहरूको शीघ्रातिशीघ्र उपचारको व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गर्दछ ।’
घटनामा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बिज्ञतिमा सहयोगमा जुटन पार्टी पंङितलाई अह्वान गरेको छ । ‘प्राकृतिक विपद्को यस घडीमा पार्टीका आज आयोजना गरिएका शुभकामना आदानप्रदान तथा चियापान लगायतका कार्यक्रमहरू स्थगित गर्न र भूकम्प प्रभावित जिल्लाका नेता–कार्यकर्ताहरूलाई भूकम्प पीडितको उद्धार कार्यमा सहयोग पुर्याउने काममा जुट्न हार्दिक आह्वान गर्दछ,’ बिज्ञप्तिमा भनिएको छ ।
यसैगरी बिज्ञप्तिमा यस प्राकृतिक विपद्मा परी निधन हुनुभएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्