जनता टाइम्स

१८ कार्तिक २०८०, शनिबार १४:५३

भुकम्प ग्रस्त क्षेत्रमा नेताहरुको भिड देखेर उदेक लाग्छ : कमल थापा


नेपालगन्ज, १८ कार्तिक । राप्रपा नेपालले आज नेपालगन्जमा गर्ने भनेको बिरोध सभालाई श्रद्धाञ्जली सभामा परिणत गरेको छ । सो श्रद्धाञ्जली सभामा बोल्दै पार्टी अध्यक्ष कमल थापाले भुकम्प ग्रस्त क्षेत्र जाजरकोट रुकुममा मन्त्री नेताहरुको भिड देखेर उदेक र दिक्क लाग्ने बताउनुभयो । तत्काल उद्धार र राहतमा ध्यान दिन पर्नेमा उल्टो सुरक्षा संयन्त्र नै अलमलमा पर्ने गरि गरिएको नेताहरुको भिड अनाबश्यक भएको टिप्पणी गर्दै थापाले अहिले सस्तो सहानुभूतिको राजनिती गर्ने समय नभएको समेत बताउनुभयो ।

‘स्थानिय कार्यकर्ता परिचालन गरौ, सरकारी संयन्त्र, सुरक्षा अङ्गलाई सहयोग गरौ, सकिन्छ भने औसधि खाद्यान्न पठाईदिउ, डिस्टर्ब हुने काम नगरौं,’ थापाले भन्नुभयो । कार्यक्रममा बोल्दै थापाले यथास्थितिबाट मुलुक अघि बढ्न नसक्ने बताउनुभयो । उहाँले भ्रष्टाचार, कुशासन, बेरोजगारी ,महङ्गीको अन्त्य आजको प्रमुख आवश्यकता भएको भन्दै यसको लागि अब जनआन्दोलनको बिकल्प नभएकोमा जोड दिनुभयो ।

धर्म संस्कृती पहिचानको रक्षाको लागि जनता जाग्नुपर्ने समय आएको बताउदै थापाले पहिचान र अस्तित्वको लागि जुरमुराउनु पर्ने बेला आईसकेको बताउनुभयो । मुलुकको स्वाधिनताको रक्षा आत्मसमर्पणबादी मानसिकताबाट ग्रस्त नेता र दलबाट हुन नसक्ने भन्दै थापाले बिदेशी पैसामा नेपाल भित्र रहेको धार्मिक सामाजिक सद्भाव र एकता खल्बल्याउने दुष्प्रयासप्रती सचेत रहन समेत आग्रह गर्नुभयो ।

राजा ल्यायर दललाई कमजोर पार्ने नीति नभएको प्रष्ट पार्दै थापाले राजा अभिभावक हुने दलहरुले नै राज्य संचालन गर्ने भएकोले राजा सहितको प्रजातन्त्र आबश्यक रहेको उहाँको दलिल थियो । कोहि निषेध नहुने ब्यबस्था आबश्यक भएको चर्चा गर्दै थापाले बिप्लब माओवादी देखि राजा सहित अट्ने ब्यबस्था मुलुकको लागि हित र अनुकुल हुने उहाँको दाबी छ ।

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै थापाले भ्रष्ट सरकारबाट कोहि कसैले केहि आशा गर्न नसक्ने समेत बताउनुभयो । कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुईटेल, राजाराम बर्तौला, रमेश अर्याल, हिक्मत ढकाल, लक्ष्मी हमाल, आशा बिष्ट, दिपेन्द्रबहादुर सिंह लगायतले बोल्नुभएको थियो । कार्यक्रममा भुकम्पमा परि दिबङ्गत भएकाको आत्माको चिर शान्तिको कामना र घाइतेहरुको स्वास्थ लाभको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।