जनता टाइम्स

२७ मंसिर २०८०, बुधबार ०८:३४

काठमाडौ महानगरमा आजदेखि खैनी, सुर्ती खान र बिक्री गर्न नपाइने


काठमाडौ, मंसिर २७ ।  काठमाण्डौ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लागेको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको हो । महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरिएको छ ।
बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन । कसैले बिक्री गरेको देखे नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही गर्ने उहाँले बताउनुभयो ।

प्रमुख पौडेलले स्वास्थ्य सहर निर्माणको अभियानमा महानगरपालिका रहेको बताउनुभयो । सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको उहाँको भनाइ छ । रोग लागिसकेपछि लाखौँ रुपैयाँ खर्च गर्नुको साटो रोगै लाग्न नदिनु उत्तम भएकाले महानगरले यो नियम कडाइका साथ लागू गर्ने महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलको दाबी छ ।

काठमाण्डौ महानगरपालिकाले यो अभियानमा सहयोग गर्न सबैलाई अनुरोध पनि गरेको छ । महानगरले ल्याएको यो नियम राम्रो भन्दै धेरैले प्रशंसा गरे पनि कार्यान्वयनमा चुनौती देखिन्छ । विगतमा पनि यस्ता नियम ल्याएको तर कार्यान्वयन नभएकाले चुनौती देखिएको हो । महानगरले गएको असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट सुर्ती खान रोक लगाएको थियो । यो नियम अहिलेसम्म कार्यान्वयन भएको छैन । महानगरले सार्वजनिक ठाउँ, मठमन्दिर, पार्टीपौवा, विद्यालय, स्वास्थ्य संस्था, बाल तथा वृद्ध आश्रम, पसल, पार्क लगायतका क्षेत्रमा चुरोट नखान पनि आग्रह गरेको छ । नियमको अटेर गर्नेलाई कारबाही हुने महानगरले जनाएको छ ।