जनता टाइम्स

३ पुष २०८०, मंगलवार ०९:१०

कुवेतबाट धमाधम गर्भ बोकेर स्वदेश फर्किँदै


काठमाडौं, ३ पुस । इटहरीकी नाम परिवर्तित बिनुका दर्जी ४ महिनाअघि गर्भ बोकेर नेपाल फर्किनुभयो । गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेर कुवेती नागरिकको घरमा काम गर्दै गर्दा उहाँले कसैको गर्भ बोक्नुभयो । त्यसपछि उहाँ आफूलाई उद्धार गर्न भन्दै त्यहाँ कार्यरत समाजसेवी घनश्याम थापा मगरको साथ पुग्नुभयो।

समाजसेवी थापाको आवश्यक सहयोगपश्चात् कागजात बनाई ४ महिनाअघि उहाँ नेपाल फर्किन सफल हुनुभयो । ‘त्यो बहिनी नेपाल गएको ४ महिना भइसक्यो, उहाँलाई गर्भ बोकाउने केटा अझै फरार छ,’ उहाँले भन्नुभयो, ‘अझै २ जना नेपाली चेली गर्भ बोकेर बस्नुभएको छ, उहाँहरू पनि उद्धारको पर्खाइमा हुनुहुन्छ । उहाँहरू गैरकानुनी रूपमै कुवेत माभुल्लामा लिभिङमा बस्दै आउनुभएको छ , माभुल्लाको एकै भवनमा बस्ने तीन जना नेपाली चेली गर्भवती हुनुभएको हो । ६ तलामा बस्ने एक जनालाई भने नेपाल पठाइसकेका छौं, बाँकी दुई जना ४ र ५ तलामा बस्नुहुन्छ, पीडितले पटकपटक मसँग नेपाल जान सहयोग गरिदिन आग्रह गरे तापनि म त्यहाँ पुगेको छैन ड्युटीको व्यस्तताले गर्दा ।

अहिले गर्भवती भई नेपाल फर्काउन सहयोग माग्ने दुई जना चेलीलाई पनि आवश्यक कागजात बनाई सहयोग गर्ने उहाँको भनाइ छ । वार्षिक रूपमा अनुमानित २५ देखि ३० जना नेपाली चेली गर्भवती भएर नेपाल फर्काइदिनु भन्दै सहयोग माग्न आउने गरेको तथ्यांक रहेको उहाँले बताउनुभयो ।

पछिल्लो समय गैरकानुनी रूपमा कुवेत पुगेका नेपाली चेली मन मिल्दा लिभिङ टुगेदरमा बस्ने र मन नमिलेपछि गर्भ बोकाएर केटाहरू भाग्ने हुँदा धेरै चेलीले उद्धारका लागि हारगुहार गर्ने गर्नुभएको छ ।

उता, यूएईमा पनि गर्भवती भई धेरै चेलीहरू समस्यामा पर्ने गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष तथा राहत उद्धार संयोजक भीम मल्ल ठकुरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘न त उनीहरूसँग कुनै भिजा छ, न त कुनै विवाह दर्ता छ, माया प्रेमपछि सँगै बस्ने गर्छन्, समस्या भएपछि केटाहरू भाग्ने गरेको पाइएको छ ।’

उहाँले बच्चा जन्म दिएर भाग्ने र महिला अलपत्र पर्ने धेरै केसहरू आएको बताउनुभयो । ‘त्यसैले क्षणभरको रमाइलोभन्दा आफ्नो जिन्दगी सोच्न र सँगै बस्ने गर्नुभन्दा पहिला त्यो मान्छे कहाँको हो, कस्तो हो बुझेर मात्र संगत गर्न म अनुरोध गर्न चाहन्छु,’ ठकुरीले भन्नुभयो ।

उहाँले बस्नै परेको खण्डमा नेपालको गाउँपालिका वा नगरपालिकाबाट सिंगल लेटर मगाएर यूएईको कोर्टमा गएर विवाह दर्ता गरी बच्चा जन्माउन पनि अनुरोध गरे । यो सामाचार राजधानी दैनिकमा छ ।