जनता टाइम्स

१ आश्विन २०७६, बुधबार १५:०५

धावनमार्ग विस्तारका लागि सेनालाई विकल्प


चितवन, असोज १

भरतपुर विमानस्थल विस्तारका क्रममा नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरणका लागि भरतपुर महानगरपालिकाले वैकल्पिक स्थान तय गरेको छ । महानगरपालिका प्रमुख रेणु दाहालका अनुसार नेपाल ट्रष्टको नाममा रहेको पुरानो दरबार दियालो बङ्गला पहिलो प्राथमिकतामा राखिएको छ । भरतपुर महानगरपालिका–१ आँपटारीस्थित सो बङ्गला क्षेत्रमा ७० बिघा हाराहारी जमीन रहेको दाहालले बताउनुभयो । सो स्थानमा हाल सेनाको गुल्म रहेको छ ।

सेनाको गण राख्दा त्यहाँको ऐतिहासिक महत्वका संरचना सुरक्षित हुने ठानिएको छ । दाहालका अनुसार दोस्रो विकल्पका रुपमा आँपटारीको जङ्गल क्षेत्र, तेस्रो विकल्पका रुपमा ठिमुराको सार्वजनिक जग्गा र चौथो विकल्पमा भतेरीको वन क्षेत्र अगाडि सारिएको छ । ती जमीनको रङ्गीन नक्सासहित आवश्यक सम्पूर्ण कागजपत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाइएको प्रमुख दाहालले बताउनुभयो । योसँगै विमानस्थलसँग सम्बन्धित हालसम्म भएका बैठक, छलफल, पत्राचारलगायतका कागजपत्रसमेत सँगै बुझाइएको छ ।

प्रमुख दाहालले नेपाली सेनाले जुन जमीन उपयुक्त ठान्दछ सोही जमीन हस्तान्तरणका लागि आवश्यक व्यवस्थापन गर्न सकिने बताउनुभयो । केही दिनअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्री भट्टराईको उपस्थितमा यहाँ भएको छलफलमा महानगरले जग्गाको टुङ्गो लगाउने, मन्त्रालयले प्राविधिक समिति गठन गर्ने र अध्यक्ष दाहालले रक्षा मन्त्रालय र पर्यटन मन्त्रालयका मन्त्री र उच्च अधिकारीलाई डाकेर बैठक गरी निर्णय गर्न सहयोग पु¥याउने सहमति भएको थियो ।

हाल विमानस्थलको धावनमार्ग छोटो हुँदा उच्च जोखिममा साना जहाज मात्र उडान र अवतरण हुँदै आएको छ । विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन केन्द्र र कालीबहादुर गण रहेको छ । दुवै गरेर ७२ बिघा जमीन चर्चेका छन् । त्यहाँबाट गण र प्रजनन केन्द्र स्थानान्तरण गरी विमानस्थल विस्तार गर्न लागिएको हो ।

विमानस्थलको धावनमार्ग बढाएसँगै ७२ सिटे जहाज उडान र अवतरण गर्न सकिने छ भने रात्रिकालीन उडानसँगै अन्य जिल्लासँग हवाई सम्बन्ध बढाउन सकिने भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले बताउनुभयो । मन्त्री भट्टराईले भरतपुर विमानस्थललाई राजधानीको विमानस्थलको विकल्पका रुपमा विकास गरी देशका अन्य विमानस्थलसँग हवाई सम्बन्ध विकास गर्ने बताउँदै आउनुभएको छ । हाल भरतपुरबाट काठमाडौँ र पोखरा उडान हुँदै आएको छ ।