जनता टाइम्स

७ पुष २०८०, शनिबार १६:२४

भारत–नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा तीन कृति विमोचन


पिथौरागढ, ७ पुस । भारत–नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा तीन कृति विमोचन गरिएको छ । भारतको पिथौरागढमा आयोजित काव्योत्सवमा नेपालका तीन साहित्यकारका कृति विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले साहित्यकार कैलाश पाण्डेयको कविता सङ्ग्रह ‘एकलव्यको देशमा’, कवि गणेश नेपालीको कविता सङ्ग्रह ‘एकलव्य’ र गीतकार कृष्णसिंह पेलाको मुक्तक सङ्ग्रह ‘फूलको प्रहार’ विमोचन गर्नुभयो ।

रावलले कृति विमोचन गर्दै दुई देशबीच पुरानो सांस्कृतिक एवं सामाजिक सम्बन्ध रहेको बताउनुभयो । ‘उताराखण्ड र सुदूरपश्चिमको सबै रीतिरिवाज र परम्परा एउटै हो’, उहाँले भन्नुभयो,‘सांस्कृतिक एवं परम्पराले एकताको पहिचान दिलाएको छ ।’ दुई देशको सिमाना फरक भए पनि सांस्कृतिक सम्बन्धले सम्बन्ध प्रगाढ बनाएको उहाँको भनाइ थियो ।

उत्तराखण्डका डा पीताम्बर अवस्थीले साहित्यिक कार्यक्रमले दुई देशको सम्बन्ध प्रगाढ बनाउन टेवा पुगेको बताउनुभयो । ‘हाम्रा सांस्कृतिक परम्पराले दुई देशको सम्बन्ध थप बलियो बनाएको छ’, उहाँले भन्नभयो,‘सयौँ वर्ष पुरानो रोटीबेटीको सम्बन्ध अहिले पनि उस्तै रहेको छ ।’ उहाँले समयसमयमा हुने यस्ता साहित्यिक कार्यक्रमले दुई देशबीच एकताको सन्देश दिएको बताउनुभयो ।