जनता टाइम्स

८ पुस २०८०, आइतबार १९:४५

तनहुँका गुरुङद्वारा खुम्जुङ्गार हिमालको आरोहण


दमौली, ८ पुस । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ निवासी प्रकाश गुरुङले छ हजार सात सय ५९ मिटरमा अवस्थित खुम्जुङ्गार हिमालको सफल आरोहण गर्नुभएको छ । जाडो मौसममा हालसम्म आरोहण नगरिएको उक्त हिमालमा गुरुङले सफल आरोहण गर्नुभएको हो । अपर मुस्ताङमा अवस्थित उक्त हिमालमा चिसो मौसममा हालसम्म आरोहण नगरिएको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो,‘सात दिनको अवधिमा म र मेरा साथि युक्त गुरुङले यो हिमालको आरोहण गरेका छौँ । आरोहण निकै चुनौती थियो तर हामीले सफल बनाएका छौँ ।’ चिसो मौसममा हालसम्म उक्त हिमालमा आरोहण नगरिएको बताउँदै आरोही गुरुङले भन्नुभयो,‘हामीलाई यो यात्रामा सहयोग गर्नुहुने परिवार, साथी र सबैप्रति आभार व्यक्त गर्दछौँ ।’

उहाँ सो सफल आरोहण गरी शनिबार टाङ्गे गाउँ फर्किनुभएको छ । निकै चिसो र अल्पाइन शैलीमा आरोहण र खोजी नगरिएको चुचुरोमा पाइला राख्नु रमाइलो भएको गुरुङले बताउनुभयो । पर्वतारोहण पदप्रदर्शक गुरुङले गत जेठ महिनामा सगरमाथाको आरोहण गर्नुभएको थियो ।

त्यसक्रममा उहाँले तनहुँको आँबुखैरेनी गाउँपालिकाको झण्डा सगरमाथामा फहराउनुभएको थियो । सन् २०१४ देखि पर्यटन व्यवसायमा आबद्ध गुरुङले सन् २०१५ मा पर्वतारोहणसम्बन्धी प्रशिक्षण लिएपछि यो व्यवसायमा लाग्नुभएको हो । उहाँले यसअघि लघुचे, मिरा हिमाल, मनास्लु हिमाल सफल आरोहण गरिसक्नुभएको छ ।