काठमाडौं, असोज २
सरकारी कर्मचारीलाई कार्यालय समयमा अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने भएको छ । सरकारले अस्पताल, सुरक्षाकर्मी र सरकारी कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने कानुनी व्यवस्था गर्न लागेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले अस्पताल, सुरक्षाकर्मी र सरकारी कर्मचारीहरुलाई अनिवार्य रुपमा स्वदेशी कपडा लगाउन बाध्य हुने गरी सार्वजनिक खरिद ऐन संशोधन गर्न लागिएको जानकारी दिनुभयो । उहाले त्यसका लागि गुणस्तरीय उत्पादन र त्यसको मूल्य सहज बनाउन पनि स्वदेशी कपडा उद्यमीहरुलाई सचेत गराएको बताउनु भयो ।
बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘यार्न एण्ड टेक्सटाईल एक्स्पो–२०१९’ को उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले स्वेदशी उद्यमहरुलाई आत्मनिर्भर बनाउन सरकारले १५ प्रतिशत संरक्षण दिने व्यवस्था गरेको पनि बताउनु भयो । अर्थमन्त्री खतिवडाले सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरु भाडामा लिन पनि निजी क्षेत्रलाई आह्वान गर्नुभयो ।
उहाले हेडौँडा कपडा कारखाना र बुटवल धागो कारखाना निजी क्षेत्रलाई भाडामा दिने सहमति गरिएको जानकारी दिनुभयो । यसलाई केही दिन भित्रै मन्त्रीपरिषदबाट पारित गराउने जानकारी पनि उहाले दिनुभयो । अर्थमन्त्री खतिवडाले सरकारले स्वेदशी उत्पादनलाई प्रोत्साहन दिन भन्सार दरहरुमा पनि सहुलियत दिइएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्