जनता टाइम्स

२२ बैशाख २०७६, आईतवार १२:१३

एनवाईइएफ र लिडर प्रोजेक्ट बीच पाँचौं पटक साझेदारी


काठमाण्डौं, बैशाख २२

नेपालका युवा उद्यमीहरुको साझा मञ्च (एनवाईइएफ)ले व्यापार योजना विकास सम्बन्धी दुई हप्ता लामो कार्याशाला आयोजना गर्न लिडर प्रोजेक्टसँग पाँचौं पटक साझेदारी गरेको छ । एनवाईइएफको महत्वपूर्ण प्रयासको रुपमा लिइएको यो कार्यशाला अप्रिल २२ देखि मे ३ सम्म चलेको हो ।

वेस्र्टन विश्वविद्यालयको आइभी बिजनेस स्कुलका विद्यार्थीहरुको प्रयासमा भएको कार्याशालाको उद्येश्य व्यापार सम्बन्धी तालिमहरु मार्फत् आर्थिक विकास प्रबद्र्धन गर्नु रहेको थियो ।

कार्याशालामा ४० जनाको सहभागिता रहेको थियो । लिडर प्रोजेक्टका लागि सबै प्रशिक्षकहरुलाई आइभी बिजनेस स्कुलको विशेष विधिबाट प्रशिक्षित गरिएको थियो । त्यस्तै पाठ्यसामाग्री पनि अन्तर्राष्ट्रिय स्तरको प्रयोग गरिएको थियो ।

आयोजक एनवाईइएफ नेपालका युवा उद्यमीहरुको उच्च तहको साझा मञ्च हो । गैर नाफामुलक यस संस्थाको उद्येश्य सकारात्मक व्यापारिक सोचको विकास गर्नु हो । वैचारिक मन्थन, तालिम, शिक्षा लगायतका माध्यमबाट दक्ष व्यवसायी उत्पादन गर्नु पनि यस संस्थाको लक्ष्य रहेको छ ।

नेपालका सबै निजी संस्थाहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघबाट यसले सेप्टेम्बर २६, २००३ मा संस्थागत मान्यता पाएको थियो ।