काठमाडौं, असोज ६ । परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली संघ (ईयू)की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरासँग भेटवार्ता गर्नुभएको छ ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहनुभएका मन्त्री खनालले संयुक्त राष्ट्रसंघको मुख्यालयमा रिबेरासँग भेटवार्ता गर्नुभएको हो । भेटमा नेपाल–ईयू साझेदारीका विभिन्न पक्षमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।
भेटमा मन्त्री खनालले भोटेकोशी बाढीपछि नेपालको कठिन परिस्थितिप्रति संवेदना र ऐक्यबद्धता व्यक्त गर्दै रिबेराले दिएको सन्देशप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।
दुवै पक्षले नेपाल र ईयूबीचको साझेदारीलाई थप गहिरो बनाउने प्रतिबद्धता दोहोर्याउनुभएको छ । विशेषगरी जलवायु परिवर्तनबाट प्रभावित नेपालका क्षेत्रको पुनरुत्थान, पुनःस्थापना र पुनर्निर्माणमा सहकार्य सुदृढ गर्ने विषयमा छलफल भएको जनाइएको छ ।
भेटमा नेपाल–ईयू सम्बन्धका विविध आयाममा विचार आदानप्रदान गर्दै आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्