काठमाडौं, असोज ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले संघीय संसद् परिसरमा सञ्चालित क्यान्टिनमा खाद्यवस्तुको मूल्य अत्यधिक महँगो भएको भन्दै तत्काल पुनरावलोकन गर्न माग गर्नुभएको छ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले संसद्को बरन्डामा ‘फाइभ स्टार होटल’ जस्तो महँगो क्यान्टिन सञ्चालन गरिएको भन्दै आपत्ति जनाउनुभएको हो।
उहाँका अनुसार संसद्को क्यान्टिनमा कालो चियाको १०० रुपैयाँ, दूध चियाको २०० रुपैयाँ, मःमको ३०० रुपैयाँ, चाउमिनको ४०० रुपैयाँ र पाउरोटीको ५०० रुपैयाँसम्म मूल्य तोकिएको छ।
सांसद सुनारले यति महँगो मूल्यमा सांसद तथा संसद् सचिवालयका कर्मचारी र मर्यादापालकले समेत खान सक्ने अवस्था नरहेको बताउनुभयो। उहाँले केही दिनअघि ‘चिया खान जाऔँ’ भन्ने अडियो भाइरल भएको प्रसंग उल्लेख गर्दै संसद् परिसरमै चिया खान कहाँ जाने भन्ने प्रश्नसमेत गर्नुभयो।
सिंहदरबारभित्र आवश्यकताभन्दा धेरै क्यान्टिन तथा होटल सञ्चालनमा रहेको भन्दै उहाँले त्यसलाई नियन्त्रण गर्नुपर्ने माग गर्नुभयो। नेपालगन्ज, वीरगन्ज र दैलेखलगायतका जिल्लामा कायम हुने सामान्य बजार मूल्यअनुसार संसद् परिसरमा पनि खाद्यवस्तुको मूल्य निर्धारण गर्नुपर्ने उहाँको भनाइ छ।
सांसद सुनारले संसद्को बरन्डामा सञ्चालित ‘फाइभ स्टार’ क्यान्टिन तत्काल बन्द गरी सर्वसाधारण र कर्मचारीले धान्न सक्ने मूल्यमा खाद्यवस्तु उपलब्ध गराउन सभामुखको ध्यानाकर्षण गराउनुभएको छ।












प्रतिक्रिया दिनुहोस्