जनता टाइम्स

२३ माघ २०८०, मंगलवार २१:४९

गृहजिल्ला झापामा केपी ओली : प्रदेशकै ठूलो सौर्य उर्जाको उदघाटनदेखि श्रद्धाञ्जलीसम्म सहभागी


झापा, माघ २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको सताक्षीधाम नगरपालिकामा कोशी प्रदेशकै ठूलो सौर्य उर्जा परियोजनाको उदघाटन गर्नुभएको छ ।

नेकपा एमालेको तर्फबाट झापा ४ बाट निर्वाचित साँसद एलपी साँवा लिम्बुको अगुवाइमा सञ्चालित परियोजनाको अध्यक्ष ओलीले आज उदघाटन गर्नुभएको हो । झापा र कोशीसँगै देशको विकासका लागि सो परियोजना अत्यन्तै महत्वपूर्ण रहेको उहाँले बताउनु भयो ।

सो परियोजना कोशीको सबैभन्दा ठूलो र देशका ठूला सौर्य परियोजनाहरु मध्येको एक परियोजना भएको अध्यक्ष ओलीले बताउनु भयो ।उद्यमशिलताको प्रवर्धन र देशको विकासमा सो परियोजनाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास अध्यक्ष ओलीको छ । उहाँले युवाहरू उद्यमशिल हुनुपर्ने बताउनु भयो ।

युवाहरुले जागिरे भन्दा पनि उद्यमशिल प्रवृत्ति अपनाउनु पर्ने उहाँले बताउनु भयो । सहकारी वा सहकार्य गरेर ठूला आयोजना संचालन गर्न सकिने उहाँको भनाई छ । ४० प्रतिशत युवा जनसंख्यामध्ये झण्डै आधा बिदेशिएको जनाउदै बिदेसिन चाहने युवाहरुलाई स्वदेशमै रोक्ने कार्यक्रम ल्याएर उद्यमशील बनाउनु पर्नेमा उहाँको जोड छ ।

निर्माण सुरु भएको दुई वर्षमा नै सम्पन्न भएको परियोजनाको कुललागत ८५ करोड रुपैंया रहेको छ । २१ बिगाहा १३ कठ्ठा जग्गा खरिद गरेर परियोजना निर्माण गरिएको परियोजनाका अध्यक्ष साँबाले बताउनु भयो । ‘बैकल्पिक उर्जाको क्षेत्रमा झापा इनर्जीले सुरु गरेको सोलार पावर प्राजेक्ट उदाहरणीय र नमुना हुने सावाले बताउनु भयो । आयोजना स्थलबाट बुलुचोक स्थित सबस्टेशनसम्म ९ सय ६६ मिटर प्रशारण लाइन निर्माण गरिएको छ ।

सञ्चालक साँवाका अनुसार परियोजनाबाट वार्षिक १ करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन हुन्छ । जसलाई १२ करोड ८५ लाख रुपैंयामा विक्रि गर्न सकिन्छ । परियोजनाको खरिद विक्री सम्झौता २५ वर्ष हुने छ । अध्यक्ष ओलीले आजै नेकपा एमाले झापाको पूर्ण बैठकलाई सम्बोधन गर्नुभयो ।

यसैबीच अध्यक्ष ओलीले झापास्थित गिरिजा कोइराला स्मृति भवन पुगेर ओलीले कांग्रेस नेता केशबकुमार बुढाथोकीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । झापाको अर्जुनधारा निवासी बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारक क्रममा गएराति निधन भएको थियो ।