काठमाडौं, माघ २४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक भए पनि बजेटरी सिस्टममा समस्या भएको जानकारी दिनुभएको छ ।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताउनु भएको हो । मन्त्री महतले बजेटरी समस्यालाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने बताउनु भयो । उहाँले विगतमा आवश्यकता र प्राथमिकताविना अनुत्पादक क्षेत्रमा खर्च भएकाले अहिले समस्या परिरहेको बताउनु भयो ।
‘अर्थतन्त्र विस्तारै चलायमान हुँदाहुँदै पनि हाम्रो बजेटरी सिस्टममा अझै समस्या छ । त्यसलाई सिस्टममा ल्याउन दुई वर्ष लाग्छ,’ मन्त्री महतले भन्नुभयो, ‘किनकी हिँजोका दिनमा धेरै अनुत्पादक क्षेत्रमा खर्च भयो । आवश्यकताभन्दा ठूला(ठूला संरचनामा खर्च भए । दीर्घकालीन आवश्यकता र प्राथमिकताविना खर्च भए ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा एकसाथ ३९६ अस्पताल शिलान्यास भएको भन्दै महतले विगतको सरकारले पछि तिर्ने गरेर पहिल्यै खर्च गरेकाले त्यसको सम्पूर्ण दायित्व अहिलेको सरकारले व्यहोर्नु परिरहेको आरोप लगाउनु भयो ।
‘बेथितिबाट बजेट खर्च भएको थियो, बेथितिलाई थितीमा ल्याउन अझै समय लाग्छ, बाह्य क्षेत्र सकारात्मक छ । आन्तरिक क्षेत्र पनि सकारात्मक हुँदै गएको तथ्यांकले नै देखाएको छ,’ अर्थमन्त्री महतले भन्नुभयो । अहिले मुलुकको विदेशी मुद्रा सञ्चिति १८ खर्ब नाघेको जानकारी दिंदै मन्त्री महतले त्यसलाई खर्च गर्न भने समस्या भएको बताउनु भयो । आगामी दिनमा त्यो खर्च पनि तीव्र रुपमा बढ्ने उहाँको भनाई छ ।
‘पुँजी आएको छ तर त्यसलाई खर्च गर्न समस्या भएको छ । अब आउने दिनमा त्यो खर्च पनि तीव्र रुपमा बढ्छ । किनकि ठेक्का लाग्ने प्रक्रियामा छ, तर सरकारको पुँजीगत खर्चले मात्र अर्थतन्त्र चलायमान हुँदैन । त्यो सानो हिस्सा मात्र हो,’ मन्त्री महतले भन्नुभयो । सरकारको धेरै बजेट सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलबभत्ता र विदेशी ऋणको सावाँ ब्याज भुक्तानीमा खर्च हुने गरेको जानकारी पनि उहाँले दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्