काठमाडौं, माघ २५ । नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पूर्वडिआइजी जोशीको घरमा बुधवार छापा मारेको हो । काठमाडौं प्रहरीले जिल्ला प्रहरी कार्यालय पोखराको आग्रहमा जोशीको घरमा छापा मारेको जानकारी दिएको छ ।
पूर्वडिआइजी जोशीको घरमा नेचर हब इन्टरनेश्नल प्रा.लि.को कार्यालयसमेत सञ्चालित रहेको थियो । प्रहरीका अनुसार छापा मार्दा सो कार्यालयबाट पोखरास्थित सूर्यदर्शन सहकारीको सफ्टवेयरसहितका विवरण र अन्य सामग्री बरामद भएको छ ।
सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम ठगी भएको घटनामा संस्थापक अध्यक्ष जीबी राई, अध्यक्ष थानबहादुर बुढा मगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भइसकेको छ ।
संस्थापक अध्यक्ष राई र पूर्वडीआईजी जोशी व्यवसायिक साझेदार समेत हुनुहुन्छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी रूपमा ऋण लिई अपचलन गरेको विषयमा अनुसन्धान गर्न प्रहरीले गोर्खा मिडिया नेटवर्क (ग्यालेक्सी टेलिभिजन) का संस्थापकसमेत रहनुभएका जोशीको घरमा छापा मारिएको प्रहरीले बताएको छ ।
प्रहरीले जोशीको शंखमूलस्थित घरबाट सहकारीका खातापाता रहेका सफ्टवेयरसहितका हार्डड्राइभ नियन्त्रणमा लिएको छ । गोर्खा मिडिया नेटवर्कमा गितेन्द्रबाबु (जीबी) राई, पूर्वडीआईजी जोशी र पूर्वसञ्चारकर्मी रवि लामिछाने साझेदार हुनुहुन्थ्यो ।
२०७८ वैशाखमा कम्पनी रजिस्ट्रार कार्यालयमा सेयर कायम हुँदा ५० प्रतिशत सेयरसहित राई अध्यक्ष, ३५ प्रतिशत सेयरसहित जोशी उपाध्यक्ष र १५ प्रतिशत सेयरसहित लामिछाने प्रबन्ध निर्देशक हुनुहुन्थ्यो । ४ करोड २० लाख रुपैयाँको उक्त सेयर २०७८ असोज २३ मा राईलाई बिक्री गरी लामिछाने बाहिरिनु भएको थियो ।
जोशीको घरमा हालसम्म जीबी राईसम्बद्ध कम्पनी र सूर्यदर्शन सहकारीका कागजात तथा कम्प्युटर फेला परेको छ । प्रहरीका अनुसार जोशीको घरमा रहेको सोही कार्यालयबाट सूर्यदर्शन सहकारीका सम्पूर्ण कारोबार हुने गरेको प्रहरीको निष्कर्ष छ । नियन्त्रणमा लिइएका उक्त सामग्री बुधबार नै कास्की प्रहरीको जिम्मा लगाइएको काठमाडौं प्रहरीले जनाएको छ ।
कास्की प्रहरीले उजुरी परेका र ऋण प्रवाह भएका व्यक्तिहरूमाथि हामीले अनुसन्धान केन्द्रित गरेको छ । पीडितहरूले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायतमाथि जाहेरी दिएका छन ।
जीबी राई समूहले पोखराका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको निष्कर्ष पोखरा महानगरको अध्ययन समितिले निकालेको छ । पोखरा महानगरको विज्ञ टोलीको राय प्रतिवेदनका आधारमा सहकारीका सञ्चालक, लेखा समिति संयोजक, सदस्य, लेखा अधिकृत र ऋण अधिकृतसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
जसमध्ये चार जना पक्राउ परेका छन भने बाँकी फरार छन । फरारमध्ये जीबीसहित तीनविरुद्ध डिफ्युज नोटिस जारी भइसकेको छ । इन्टरपोलले गत १२ गते राईका नाममा डिफ्युजन नोटिस जारी गर्दै फरार सूचीमा राखेको हो । पीडितहरूको दाबी र महानगरको अध्ययन प्रतिवेदनअनुसार लामिछानेको नाममा सूर्यदर्शन सहकारीबाट एक करोड र बुटवलमा सञ्चालित सुप्रिम सहकारीको पनि एक करोड रुपैयाँ प्रवाह भएको छ ।
ग्यालेक्सी टीभी सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कमा पनि सहकारीबाट गैरकानुननी रूपमा ऋण प्रवाह भएको, तत्कालीन समयमा लामिछाने उक्त कम्पनीका प्रबन्ध निर्देशक रहेको र लामिछानेको नाममा समेत ऋण प्रवाह भएको देखिएकाले पुनः अनुसन्धानको माग गरी जाहेरी दिएको संघर्ष समितिले जनाएको छ ।
पोखरा, चितवन, वीरगन्ज, बुटवल, नेपालगन्ज र काठमाडौंजस्ता प्रमुख सहरमा सहकारी खोलेका जीबी समूहले करिब ४९ हजार सर्वसाधारणको ७ अर्ब ६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको प्रारम्भिक विवरणले देखाएको छ ।













प्रतिक्रिया दिनुहोस्