काठमाडौं, २० फागुन । चितवनस्थित विद्यालयको छात्रावासमा मृत भेटिएकी शालीन पोखरेलको पोष्टमार्टम रिपार्ट बलात्कार नभएको देखिएको छ । पोख्रेलको शवको पोष्टमार्टम महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालमा गत बुधबार गरिएको थियो । प्रहरी स्रोतका अनुसार पोष्टमार्टम रिपोर्टमा उनको बलात्कार नभएको पाइएको हो । गत शनिबार बिहान रत्ननगर नगरपालिका–१५ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतनको होस्टलमा बस्ने गोरखाकी १४ वर्षीया शालीन पोख्रेलको मृत्यु भएको थियो ।
बालिका होस्टलको कोठामा रहेको सिलिङको पङ्खामा पलास्टिकको डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको मृत्युपछि मृतकका आफन्तले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि प्रहरीले उक्त विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सह(प्रधानाध्यापक ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो ।
चितवन जिल्ला अदालतको आदेशअनुसार अनुसन्धानको लागि उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । रिपोर्टमा मृत्यूको कारण ह्याङ्गिङ (झुण्डिएर) भनिएको छ । यसले आत्महत्यातर्फ संकेत गर्छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि आत्महत्या भएको देखाएको छ । यद्यपि, सामाजिक सञ्जालमा बलात्कार र हत्या भन्दै प्रचारप्रसार भएपछि प्रहरी दबाबमा परेको थियो । शालीनको बलात्कारपछि हत्या भएको भनी परिवारले आन्दोलन गरिरहेका छन् ।













प्रतिक्रिया दिनुहोस्