जनता टाइम्स

७ आश्विन २०७६, मंगलवार १४:०९

राष्ट्र बैंकले जलायो पाँच खर्व बरावरको नोट


काठमाडौं, असोज ७ । नेपाल राष्ट्र बैंकले ठूलो परिणाममा नोट जलाएको छ । राष्ट्र बैंकका अनुसार काम नलाग्ने ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार ६ सय २४ रुपैयाँ पुराना तथा झुत्रा नोट जलाएको हो ।

आर्थिक बर्ष २०७५/०७६ सम्ममा यो नोट जलाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिनुभयो । राष्ट्र बैंकका अनुसार नोट पुराना भएर जलाउने क्रम बढिरहेको छ । राष्ट्र बैङ्कले सर्वसाधारण, बैङ्क तथा वित्तीय संस्थाहरूबाट संकलन गरेका १ हजार, ५००, १००, ५०, २०, १० र ५ दरका पुराना, झुत्रा तथा मैला कागजी नोटहरु नष्ट गरेको हो । हजारका ५ करोड ३२ लाख ३२ हजार ३८ थान, ५ सयको ३ करोड १६ लाख ४ हजार २ सय ४० थान, २५० रुपैयाँको ३१ थान, सय रुपैयाँको चार करोड १४ लाख ६३ हजार ३ सय ७४ थान, ५० को ४ करोड ५० लाख ४४ हजार ४३ थान नोट नष्ट गरेको हो ।

बजारबाट संकलन भएका पुराना तथा झुत्रा नोटहरुलाई टुक्राटुक्रा पारी धुल्याइन्छ । प्रयोग गर्न नसकिने अवस्थामा पुगेका तर नम्बर देखिने नोटलाई प्रचलनमा आउन नदिन र त्यसको दुरुपयोग रोक्न टुक्रा पारिएका नोटलाई भट्टीमा राखेर जलाइन्छ ।