काठमाडौं, फागुन २९ । राष्ट्रियसभा अध्यक्षमा सत्ता गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका सांसद नारायण दाहाल निर्वाचित हुनुभएको छ । राष्ट्रिय सभामा भर्खरै सम्पन्न निर्वाचनमा दाहाल ३९ मत प्राप्त गरी अध्यक्षमा बिजयी हुनुभएको हो ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षका भाई नारायण दाहाल बिज्ञ कोटामा राष्ट्रपतिबाट मनोनीत भइ राष्ट्रियसभामा जानुभएको हो । प्रधानमन्त्री दाहालले उपाध्यक्ष उर्मिला अर्याललाई पन्छाएर राष्ट्रपतिबाट मनोनीत भएपनि भाई नारायणलाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय लिनुभएको थियो ।
दाहालसँग नेपाली कांग्रेसका युवराज शर्माले प्रतिस्पर्धा गर्नुभएको थियो । राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएसँगै दाहालले नयाँ इतिहास कायम गर्नुभएको छ । राष्ट्रपतिबाट मनोनीत भएर राष्ट्रियसभामा जाने सांसद पनि दलको तर्फबाट उम्मेदवार बनेर अध्यक्ष हुनसक्छ भन्ने नौलो इतिहास दाहालाले रच्नुभएको हो ।
आज बसेको राष्ट्रिय सभा बैठकमा सत्ता गठबन्धनको तर्फबाट गोपी सार्की अछामीले पेस गरेको नारायण दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । उक्त प्रस्तावलाई मतविभाजनमार्फत् निर्णयार्थ प्रस्तुत गरिएको थियो । मतविभाजनको परिणामअनुसार बैठकमा उपस्थित सांसदको संख्या ५६ रहेकोमा दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत पर्दा विपक्षमा १७ मत परेको हो ।













प्रतिक्रिया दिनुहोस्