काठमाडौं, फागुन ३० । बिमानस्थलबाट भएको सुन तस्करीमा संलग्न मुख्य अभियुक्तसँग अर्थमन्त्री बर्षमान पुनकै सिधा सम्पर्क रहेको प्रमाण भेटिएको छ । सिआइवीले अनुसन्धानको क्रममा प्राप्त गरेको कल डिटेलले तस्करसँग अर्थमन्त्री पुनको सिधा सम्पर्क रहेको तथ्य खुलेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले गरेको अनुसन्धानको क्रममा प्राप्त तथ्यहरुले सुन तस्कर र अर्थमन्त्री पुनबीच नियमित सम्पर्क देखिएको हो । प्रहरी स्रोतका अनुसार दुवईबाट लामो समयदेखि भइरहेको सुन तस्करीमा संलग्न पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार तथा कलेज सञ्चालक जीवन गुरुङसँग अर्थमन्त्री पुनको सम्पर्क देखिएको हो ।
सिआइबी स्रोतले अर्थमन्त्री पुनको सुन तस्करीमा संलग्न रहेका गुरुङसँग सम्पर्क देखिएको जनाएको छ । प्रहरीले फेला पारेको तथ्यअनुसार सन २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्म अर्थमन्त्री पुन र सुन तस्करीमा पक्राउ परेका गुरुङबीच ११ पटक फोनमा कुराकानी भएको छ । प्रहरी स्रोतका अनुसार कल डिटेलमा अर्थमन्त्री पुनले मोबाइलबाट गुरुङको नम्बरमा ६ पटक फोन गर्नुभएको देखिएको छ भने गुरुङले सातपटक अर्थमन्त्री पुनलाई फोन गरेको पाइएको छ ।
गत मंसिर २१ गते फ्लाई दुबईबाट ल्याइएको १४ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले बरामद गरी चन्द्र घलेलाई पक्राउ गरेको थियो । घले पक्राउ परेलगत्तै गुरुङ फरार भएका थिए । प्रहरीले उनको खोजी गरिरहेको थियो। खोजीको क्रममा फागुन १४ गते सामाखुसीबाट पक्राउ गरेको थियो । विमानस्थलबाट बरामद गरिएको १४ किलो सुनबारे अनुसन्धान गर्न विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
सो समितिले पछिल्लो १ वर्षमा १३८ किलो सुन गुरुङ, चन्द्र घले, मीनबहादुर घले र कृष्णकुमार श्रेष्ठ संलग्न रहेको निष्कर्ष निकालेको थियो । २०७९ मंसिरपछि अहिलेसम्म भएको १३८ किलो सुन तस्करीका मुख्य योजनाकार गुरुङ पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका परराष्ट्र सल्लाहकार रहेका थिए। गुरुङ प्लाटिनम कलेजका सञ्चालकसमेत हुन । यस्तै पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश र गुरुङबीच १८४ पटक संवाद भएको देखिएको छ ।
प्रहरीका अनुसार हिरासतमा रहेका गुरुङ र सुन तस्करीका अर्का नाइके मीनबहादुर घलेको नम्बरमा ५५३ पटक संवाद भएको देखिएको छ । मीनबहादुर घलेले आफ्नी पत्नी धनकुमारी घलेलाई पनि तस्करीमा प्रयोग गर्ने गरेकाले उनीसँग पनि फोनसम्पर्क भएको देखिएको छ । गुरुङ र धनकुमारी घलेबीच १०२ पटक संवाद भएको देखिएको प्रहरीले जनाएको छ। गुरुङले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनसँग समेत ३३ पटक फोन सम्पर्क गरेको कल डिटेलले देखाएको छ ।
अनुसन्धानका लागि हिरासतमा रहेका गुरुङले अर्थमन्त्री पुनसँग कुराकानी भएको स्विकार गरेका छन । यसअघि चिनिया तस्करसँग समेत अर्थमन्त्री पुनको घणिष्ठता रहेको देखिएको थियो । सुन तस्करीकै लागि अर्थमन्त्री पुनका भाइ प्रनिश पुनसमेतले भियना मल्टिपर्पस नामको सुन उत्खनन गर्ने उद्देश्य रहेको कम्पनी खोलेको देखिएको थियो । सुन तस्करी अभियोगमा थुनामा रहेका दावा छिरिङसँग प्रनिशको प्रत्यक्ष सहकार्य थियो भने बर्षमानको पनि घणिष्ठता रहेको थियो ।
सुन तस्करीमा अमला रोका, दीपक बुढा, सिसम रोकाका नाममा रहेको सो कम्पनीले सुनको खोजतलास गर्ने जनाएको थियो । पूर्वराष्ट्रपति पुनका दुई छोरामध्ये दिपेशसँगै जितेन्द्रको पनि सुन तस्करीमा प्रत्यक्ष संलग्नता रहेको तथ्य यसअघि नै बाहिर आइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्