जनता टाइम्स

२ चैत्र २०८०, शुक्रबार ०७:२०

कालीगण्डकीका जनप्रतिनिधि बिलासी बन्दै, खरिद गरे ३५ लाखको गाडी


सज्जन ढकाल/गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिकाले आर्थिक बर्ष २०८०/८१ को बजेटमा लु १ झ ८३३ नम्बरको २०२३ मोडेल महेन्द्र कम्पनीको डबल क्याप बोलेरो गाडी खरिद गरेको छ । गाउँपालिकाले ३५ लाख रुपैयाँमा सो गाडी खरिद गरेको हो ।

बोलपत्र आव्हान गरी क्याटलक विधिअनुसार खरिद गरिएको हो । गाडी खरिदका लागि गाउँपालिकाले आर्थिक बर्ष २०८०/८१ मा ३५ लाख रकम बिनियोजन गरेको थियो । चार लाख रकम गाडी डेकोरेसनमा खर्च गरिएको पालिकाले जनाएको छ ।

गाउँपालिकाले यसअघि खरिद गरिएको स्कारपियो गाडी हुँदा हुँदै नयाँ बोलेरो गाडी खरिद गरिएको हो । कालीगण्डकीका निर्बाचित जनप्रतिनिधिसँगै प्रमुख प्रशासकीय अधिकृतलाई गाडी चाहिएको भन्दै खरिद गरिएको हो । आवश्यकताको आधारमा जनप्रतिनिधिको दबाबमा गाडी खरिद नगरिएको प्रशासकीय अधिकृत नरेश गिरिले बताउनु भयो । उहाँले गाडी चालक खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गरिने जानकारी दिनुभयो ।

कालीगण्डकीको भौगोलिक अवस्था जटिल हुँदा चिल्ला गाडी सबै भुगोलमा पुग्न असहज भएकाले अनुगमनसँगै कार्यालय प्रयोजनका लागि फोरबिल गाडी खरिद गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले बताउनु भयो । दुई–दुई वटा गाडी कसरी संचालनमा ल्याउनु हुन्छ ? भन्ने जनताटाइम्स डटकमको प्रश्नमा “डिजल राख्ने ड्राईभरले चलाउने“ भन्दै गैरजिम्मेवार पूर्ण ठट्यौली जवाफ दिनुभयो ।

गाउँपालिकामा गाडीको अभाव हुँदा बार्षिक १७ देखि १८ लाख भाडाका गाडिमा खर्च हुने गरेकाले जनप्रतिनिधिसँगै कार्यालय प्रयोजनका लागि नयाँ बोलेरो गाडि खरिद गरिएको उपाध्यक्ष मन्जुकुमारी दर्लामीले बताउनु भयो ।

पुरानो स्कारपियो गाडी मर्मतको लागि काठमाडौं लगिएको छ । नयाँ गाडी सञ्चालनमा आइसक्दा आजसम्म पालिकाले गाडी चालकको लागि बिज्ञापन प्रकाशित गरेको छैन । पुरानै गाडी चालकले चलाईरहेका छन । आफू अनुकुलका गाडी चालक नियुक्ति गर्न अध्यक्ष र उपाध्यक्षको भित्रभित्र दौडधुप भैरहेको विशेष स्रोतले बताएको छ ।

बिकास बजेट अभावको समयमा सवारी हुँदाहुँदै सवारी साधन खरिदमा बजेट बिनियोजन गर्नु जनप्रतिनिधि संगै कार्यालय प्रमुखको गाडी मोह हो । संघीयता संगै स्थानीय निकाय पश्चात कालीगण्डकी गाउँपालिकाले स्कारपियो संगै बोलेरो गाडी खरिद गरिसकेको छ ।