काठमाडौं, चैत ३ । सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माणका लागि गठित सत्ता गठबन्धनको कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा शीर्ष नेताहरूलाई बुझाएको छ ।
नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल नेतृत्वको १० सदस्यीय कार्यदलले आज प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलले अन्तिम रुप दिएको सरकारको न्यूनतम साझा कार्यक्रम शीर्ष नेतालाई बुझाएको हो ।
कार्यदल संयोजक पौडेलले साझा कार्यक्रममा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधानलाई फोकस गरिएको बताउनु भयो । संयोजक पौडेलका अनुसार न्यूनतम कार्यक्रको मस्यौदामा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधान, आम नागरिकमा आशाको सञ्चार र विश्वास जगाउने, सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।
यस्तै राष्ट्रलाई समृद्ध बनाउने, जनतालाई सुखी बनाउने, समृद्ध नेपाल ः सुखी नेपालको आकांक्षा पूरा गर्ने र देशलाई समाजवादतर्फ अगाडि बढाउने विषय मस्यौदामा समेटिएको छ । कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर सत्ता गठबन्धनका शीर्ष नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एककृत समाजवादीका अध्यक्ष माधव नेपाल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवलाई हस्तान्तरण गरेको हो ।
कार्यदलको शुक्रवार बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेको थियो । एमाले उपाध्यक्ष पौडेल नेतृत्वमा १० सदस्यीय कार्यदललाई सरकारमा सहभागी पाँच राजनीतिक दलको तर्फबाट न्यूनतम साझा कार्यक्रम तयार पार्ने जिम्मेवारी थियो ।
कार्यदलमा एमाले उपाध्यक्ष पौडेल संयोजक हुनुहुन्छ भने उपमहासचिव विष्णु रिमाल, नेकपा माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले र महासचिव डा. मुकुल ढकाल, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल तथा जसपाबाट नेताद्वय राजेन्द्र श्रेष्ठ र मनिष सुमन सदस्य रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्