जनता टाइम्स

३ चैत्र २०८०, शनिबार १९:०९

अर्थमन्त्री पुनले औल्याए पूर्वमन्त्री महतले गरेको गम्भीर गल्ती


काठमाडौं, चैत ३ । अर्थमन्त्री वर्षमान पुनले अघिल्ला अर्थमन्त्री डा. प्रकाशशरण महतले गम्भीर गल्ती गरेको तथ्य औंल्याउनु भएको छ । अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नर एकअर्काका प्रतिस्पर्धी नभएको र झगडा गरेर बस्ने काम अनुचित रहेको भन्दै अर्थमन्त्री पुनले पूर्वअर्थमन्त्री महतको काम गलत रहेको तथ्य औल्याउनु भएको हो ।

राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले शनिबार काठमाडौंमा आयोजना गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट) २०२४ लाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर अघि नबढदासम्म आर्थिक क्षेत्रको समस्या समाधान हुन नसक्ने बताउनु भयो ।

‘अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर अर्थतन्त्रका समस्या समाधान गरी बजार चलायनमान बनाउनुपर्छ,’ मन्त्री पुनले भन्नुभयो । अर्थमन्त्री पुनले सरकार र राष्ट्र बैंक दुवैले जनताको अपेक्षा, आकांक्षा र संविधानले दिशानिर्देश गरेअनुसारका कानुन र नियमभित्र बसेर काम गर्ने भएकाले एकअर्कालाई आरोपित गर्नु गलत भएको बताउनु भयो । सरकार र राष्ट्र बैंकबीच रचनात्मक, सहयोगात्मक र आपसी समन्वयात्मक सम्बन्ध हुनुपर्ने मन्त्री पुनको भनाइ थियो ।

राष्ट्र बैंक मौद्रिक नीतिमार्फत सरकारको वित्तीय नीति कार्यान्वयन गर्ने निकाय भएकाले एक अर्कामा समन्वय नभए त्यसको असर मुलुकको समग्र अर्थतन्त्रमा पर्ने उहाँको भनाई छ । ‘जहिले पनि अर्थमन्त्री र गभर्नरलाई प्रतिस्पर्धी जस्तो बनाउने गरिएको छ, यो कसरी हुन सक्छ ? हामी एकअर्कामा झगडा गर्ने र आफूलाई माथि देखाउन अरुको गल्ती औँल्याउने होइन । यो व्यक्तिगत नभई राज्य सञ्चालनको विषय भएकाले जहाँ समस्या हुन्छ त्यहाँ मिलेर काम गर्ने हो,’ अर्थमन्त्रीले भन्नुभयो ।

उहाँले राष्ट्रबैंक सञ्चालक समितिका ७ मध्ये ४ जना अर्थात बहुमत सदस्य सरकारले पठाएका व्यक्ति हुने भन्दै सरकारमा बस्नेले गर्भनरलाई आरोपित गर्न नमिल्ने स्पष्ट पार्नुभयो । राष्ट्रबैंक सञ्चालक समितिमा सरकारका तर्फबाट अर्थसचिव र तीन जना विज्ञलाई सञ्चालकका रुपमा पठाउने व्यवस्था छ । यस्तै गर्भनर र दुई डेपुटी गभर्नर सदस्य हुन्छन् । बोर्डमा बहुमत भएको सरकारका प्रतिनिधिले गभर्नरलाई आरोपित गर्नु भनेको आफ्नो अयोग्यता र अक्षमता ढाकछोप गरेको हुने अर्थमन्त्री पुनले बताउनु भयो ।

‘सरकारले अर्थसचिवलाई राष्ट्र बैंकको बोर्डमा पठाउने । तीन जना अरु स्वतन्त्र विज्ञ बोर्डमा पठाउने । ७ मध्ये चारजना बहुमत लिएर बसेर गभर्नरलाई अरोपित गर्नु आफ्नो अयोग्यता र कमजोरी ढाकछोप गर्नु हो,’ अर्थमन्त्री पुनले भन्नुभयो, ‘यदि हामीले पठाएका सञ्चालक र सचिव योग्यतम वा ठीक छैनन् भने फिर्ता गर्ने या भगर्नर र डेपुटी गभर्नरसँग संवाद गरेर समस्याको समाधान गर्ने हो ।’

राष्ट्रबैंकको काम राजनीतिक नेतृत्वको भिजनलाई आफ्नो विज्ञतामार्फत कार्यान्यवन गर्ने रहेको उहाँले प्रष्ट पार्नुभयो । ठूलठूला युद्धमा रहेका मुलुकका बीचमा समेत युद्ध रोक्न वार्ता हुने गरेको चर्चा गर्दै पुनले मुलुकको हितमा काम गर्ने उद्देश्यले अर्थमन्त्री र गभर्नरका बीचमा समस्या आए तत्काल संवादमार्फत समाधान खोज्न सकिने बताउनु भयो ।

बजारमा पर्याप्त तरलता (लगानी योग्य रकम) भएकाले विगतमा तरलता अभाव भएका बेला ल्याइएका कठोर नीतिमा लचकता अपनाउन पनि उहाँले राष्ट्र बैंक नेतृत्वलाई सुझाव दिनुभयो । नियामक निकायको काम थप अप्ठेरो पार्ने नभई सहजीकरण गर्नु पनि भएकोले सो काम गर्नुपर्ने अर्थमन्त्री पुनको भनाई छ । अर्थमन्त्री पुनले यो भनाई राखिरहँदा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निकै ध्यानपुर्वक सुनिरहनु भएको थियो ।