जनता टाइम्स

१४ चैत्र २०८०, बुधबार १४:५६

माओवादी नेता पासमानसहित ५ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर : प्लाटुन कमाण्डरहुँदै मेयर भएपछि यसरी बने भ्रष्टाचारी


काठमाडौं, चैत १४ । नेकपा माओवादी केन्द्रका नेता एवं सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुप्योग अनुसन्धान आयोगले नगरप्रमुखका रुपमा रहँदा भ्रष्टाचार गरेको ठहरसहित आज बिशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले नगरपालिकाका अर्का तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रविन कुमार महतो र निर्माण व्यवसायी महालक्ष्मी/पाण्डे एण्ड कम्पनी/ड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवमाथि पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार ०७८÷७९ मा प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा उनीहरू सवैले अनियमितता गरेको तथ्य भेटिएको छ । उच्च अदालत जनकपुर, राजविराजले प्रक्रिया पुरा नभएसम्म नगरपालिकाको कार्यालय अन्यत्र नसार्न र तोकिएको साबिक कर्जन्हा गाविसको कार्यालयबाटै कार्यालय सञ्चालन गर्नु भनेर जारी गरेको आदेशविपरीत प्रशासनिक भवन निर्माणको ठेक्का लगाएर सार्वजनिक सम्पत्तिको हानि/नोक्सानी पुर्याएको आयोगले आरोप पत्रमा दाबी गरेको छ ।

निर्माण व्यवसायीले भवन निर्माणका लागि पेस्की भुक्तानी लिएको थियो । तर निर्माण कार्य सुरु नगरेको, पेस्की भुक्तानी ग्यारेन्टीको म्याद समाप्त भइसक्दा पनि म्याद थप नगरेको र फिर्ता दाखिला नगरेको आयोगले जनाएको छ । आयोगले तत्कालीन मेयर पासवानसहित पाँचै जनालाई विपक्षी बनाउँदै १ करोड आठ लाख रुपैयाँ बिगो बमोजिम जरिवाना र कैद सजायको माग गरेको छ । मेयर पासवान नेकपा माओवादी केन्द्रबाट प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

युद्धकालमा माओवादी जनसेनाका प्लाटुन कमाण्डर पासमान झुपडीदेखि मेयरसम्मको यात्रापछि भ्रष्टाचारमा तानिनुभएको हो । दलित गरिव परिवारका पासवान मुक्तिको नारा दिएर आफ्नो बस्तीमा लोकप्रिय बन्नुभएका पासवान माओवादी केन्द्रबाट कर्जन्हा नगरपालिकाको मेयरमा निर्वाचित भएपछि वस्तीमा हर्षोल्लास छाएको थियो ।

दलित पासवान समुदायबाट अहिलेसम्मकैं कार्यकारी राजनीतिक पदमा पुग्ने भाग्यमानी गंगा अव भने भ्रष्टाचारीको उपनाममा चिनिनु परेको छ ।अभावै अभावमा दैनिक मजदुरी गरी स्कुल पढनुभएका पासवान २०५८ सालतिर जनयुद्धमा होमिनुभएको थियो ।

जनमुक्ति सेनाको प्लाटुन कमाण्डर भएर जनयुद्ध लडनुभएका पासवान युद्धको समयमा उदयपुरको खुर्सानीटार, महोतरीको जलेश्वरमा तत्कालीन शाही सेनासँगको जम्काभेटमा भिडेर जोगिनुभएको थियो ।  शान्ति प्रक्रियापछि सेना समायोजनको क्रममा स्वेच्छिक बर्हिगमन रोजेर पूर्णकालीन राजनीतिमा लाग्नुभएका पासवान पदमा पुगेपछि भने आफै भ्रष्टाचारी बन्न पुग्नुभएको हो ।