जनता टाइम्स

१६ चैत्र २०८०, शुक्रबार १६:५१

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोशाक लगाउने ब्यवस्था गर्दै सरकार, यस्तो छ तयारी


काठमाडौं, चैत १६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशमा उत्पादित पोसाक लगाउने व्यवस्था गर्न सरकारले सोच बनाएको बताउनु भएको छ ।

नेपाल उद्योग तथा व्यवसायी महासङ्घद्वारा ललितपुरको महालक्ष्मी नगरपालिकामा आयोजित ‘विद्यमान व्यावसायिक समस्या तथा समाधान विषयक’ अन्तरक्रियामा बोल्दै मन्त्री भण्डारीले नेपाली पोशाकको प्रयोग पहिलो चरणमा सबै मन्त्रीहरुले गर्ने बताउनु भयो ।

‘हप्तामा दुई दिन नेपाली कोट, पाइन्ट, जुत्ता, टोपी शिरदेखि पाउसम्म राज्यका सबै निकायमा उपभोग गर्ने नीति हामी ल्याउँदैछौँ, पहिला सबै मन्त्री त्यसपछि सांसद र स्थानीय तहका जनप्रतिनिधिले लगाउने छन,’ वर्तमान सरकार स्वदेशी उत्पादन बढाउने ध्येयका साथ लागेको उल्लेख गर्दै मन्त्री भण्डारीले भन्नुभयो ।

उहाँले नेपाली बजारमा स्वदेशी उत्पादनको क्षमता अध्ययन गरी सोहीअनुसार बजार वृद्धि गरेर राज्यका हरेक निकायमा सो पोसाक लगाउन अनिवार्य गरिने बताउनु भयो । ‘नेपाली उद्योगले दिन सक्छन कि सक्दैनन पहिला विस्तृत रुपमा उत्पादनको अवस्था अध्ययन गरेर त्यसपछि उत्पादनमा प्रोत्साहन गरिने छ,’ उहाँले भन्नुभयो ।

नेपाली बजारमा निर्यातभन्दा आयात उच्च रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले सरकार निर्यात प्रवद्र्धनमा केन्द्रित हुने जानकारी पनि दिनुभयो । सरकारको मुख्य अहिलेको धेय जनतामा उत्पन्न भएको निरासालाई आशामा बदल्ने रहेको उहाँको भनाइ छ । सरकारले अघि सारेको उत्पादन वृद्धिका लागि ‘स्टार्ट अप’ नीति कार्यक्रमलाई केही दिनभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी पनि मन्त्री भण्डारीले दिनुभयो ।

‘प्रधानमन्त्री स्वदेशी उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ आगामी आर्थिक वर्षबाट प्रभावकारी बनाउने गरी अर्को मन्त्रिपरिषद् बैठकबाट कार्यविधि पारित गरेर नेपालका स्वदेशी वस्तु उत्पादनमा अभिपे्ररित गर्न अगाडि बढाइने उहाँले जानकारी गराउनुभयो । नेपाली वस्तुले बजार नपाएको सन्दर्भ उल्लेख गर्दै उद्योग मन्त्रालयबाट निर्यातमुखी व्यवसाय सञ्चालनका लागि आवश्यक तालिम तथा सीपको व्यवस्था गर्ने जानकारीसमेत उहाँले दिनुभयो ।