जनता टाइम्स

१६ चैत्र २०८०, शुक्रबार १८:४५

निर्माण व्यवसायीले प्राप्त गर्नुपर्ने बक्यौता रकम भुक्तानी अव चाँडै हुन्छ : प्रधानमन्त्री


हेटौंडा, चैत १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण व्यवसायीहरूले प्राप्त गर्नुपर्ने बक्यौता रकम भुक्तानीको प्रक्रिया अगाडि बढिसकेकोले केही समयभित्रै काम हुने प्रष्ट पार्नुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघको २५ औँ साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।

‘तपाईंहरुको मागको सम्बोधन गर्न सरकार निकै संवेदनशीछ छ । निर्माण व्यवसायीहरूले प्राप्त गर्नुपर्ने बक्यौता रकम भुक्तानीको प्रक्रिया अगाडि बढिरहेको छ । बाँकी बक्यौता रकम तुरून्त भुक्तानी दिन अर्थ मन्त्रालयलाई निर्देशित गरिसकेको छु । अव छिटोभन्दा छिटो बक्यौता रकम भुक्तानी गरी पूर्वाधार विकासका कामलाई गति दिनसमेत सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले छिटोभन्दा छिटो बक्यौता रकम भुक्तानी गरी पूर्वाधार विकासका कामलाई गति दिन सरकार प्रतिबद्ध रहेको भनाई पटक पटक दोहोर्याउनु भयो ।
उहाँले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर कार्यान्वयनमा लैजाने विषय सरकारको प्राथमिकतामा रहेको जानकारी पनि दिनुभयो । प्रधानमन्त्री दाहालले खरिद प्रक्रियामा रहेका प्रक्रियागत ढाँचालाई सरलीकृत गरिने जानकारी दिनुभएको हो ।

’सार्वजनिक खरिद नियमावली पटकपटक संशोधन हुँदै आए पनि त्यसले हाम्रो राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न सकेको छैन। खरिद प्रक्रियाका प्रक्रियागत ढाँचालाई सरलीकृत गर्दै निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकतामा छ,’ उहाँको भनाई थियो ।

प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीहरूको समेत सहभागितामा ऐन संशोधन गरी पूर्वाधार विकासलाई गति दिन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । यस्तै निर्माण कम्पनीहरूको पुँजीगत सामर्थ्य, प्रविधि र जनशक्तिका आधारमा निर्माण कार्यसम्बन्धी वैज्ञानिक नीति र मापदण्ड निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।