जनता टाइम्स

२० चैत्र २०८०, मंगलवार २२:३०

प्रहरीलाई ठूलो सफलता, दैनिक २ करोड बढी हुण्डी कारोबार गर्ने गिरोहको नाइके पक्राउ


बारा, चैत २० । बारा प्रहरीले ठूलो परिमाणमा अबैध हुण्डी कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा खटाइएको जिल्ला प्रहरी कार्यालयका बिशेष टोलीले बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ४ मुसहर्वाबाट हुण्डी कारोवारमा संलग्न गिरोहका २ जना नाइकेलाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले दिनुभएको जानकारीअनुसार पक्राउ पर्ने हुण्डि कारोवारीमा पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ का हरिकिशोर प्रसाद पटेल र बाराको महागढी नगरपालिका वडा नम्बर १ बस्ने रमेश कुशवहा रहेका छन ।

एसपी काफ्लेले उनीहरूको साथबाट स्रोत नखुलेको १३ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ । उक्त रकमसहित दुवै अभियुक्तलाई बारा प्रहरीले आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा एसपी काफ्लेले पक्राउ परेका दुवै जना अभियुक्त ठुलो रकममा कारोबार गरिरहेका नाइके रहेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा नै दुवै जना हुण्डि कारोवारको नाइके देखिएका छन । उनीहरूको साथबाट बरामद मोबाइल तथा ल्यापटपसहितका विद्युतीय सामग्रीको ‘डाटा’ विश्लेषण गर्दा पहिलो फेजमा दैनिक २ करोड रुपैयाँसम्म कारोेबार हुने गरेको पाइएको छ ।

अनुसन्धानमा संलगन प्रहरीका अनुसार पक्राउ परेका महतोले मलेसियामा रहेका आफ्नो दाइ राकेश कुशवाहामार्फत त्यहाँबाट संकलन गरिएको हुण्डी रकम भारतबाट उठाएर नेपाल ल्याउने गरेका थिए । त्यही क्रममा सोमबार भारतबाट हुण्डीकै पैसा उठाएर नेपाल ल्याउँदा प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

बारा प्रहरीले उनीहरूको साथबाट प्रदेशको २–०३–०१६ प २३३७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरूलाई हिरासतमा राखी अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । प्रहरीले यो सञ्जालमा अन्य सदस्य पनि भएको तथ्यसहित अनुसन्धानलाई तीब्रतासहित अघि बढाइएको जनाएको छ ।