जनता टाइम्स

२१ चैत्र २०८०, बुधबार ००:२८

कोरियासँग उद्योगमन्त्री दामोदर भण्डारीको प्रस्ताव : ऊर्जा क्षेत्रमा लगानी गर्नाेस


काठमाडौं, चैत २१ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले जलविद्युत् तथा ऊर्जा क्षेत्रको विकासलगायत उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रस्ताव गर्नुभएको छ । मन्त्री भण्डारीले नेपालको आर्थिक र सामाजिक विकासका लागि कोरिया महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको बताउनु भयो ।

नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तइयोङसँग मंगलवार भएको भेटबार्तामा मन्त्री भण्डारीले यस्तो बताउनु भएको हो । मन्त्री भण्डारीले नेपालले कृषि, उद्योग र जलविद्युत् विकासका लागि कोरियन अनुभव, ज्ञान, सीप तथा प्रविधिबाट लाभान्वित हुन चाहेको बताउनुभयो ।

भण्डारीले राजदूत तइयोङसँग नेपालमा पछिल्ला दिनमा लगानीमैत्री वातावरण बन्दै गएकाले नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रको विकासलगायत उत्पादनमूलक र अन्य क्षेत्रमा सहयोग गर्न कोरियन सरकार र निजी क्षेत्रलाई आग्रह गर्नुभयो । नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा कोरिया सरकार तथा निजी क्षेत्रको सहभागिताका लागि सहजीकरण गरिदिन उहाँले आग्रह गर्नुभयो ।

नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कोरियाको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालय बिच व्यापार तथा लगानी प्रवर्द्धनको कार्य ढाँचा स्थापना गर्न समझदारी पत्रको मस्यौदा कोरिया पक्षबाट नेपालले प्राप्त गरी सो मस्यौदामा अध्ययन तथा सरोकारवालासँग छलफल भइरहेको मन्त्री भण्डारीले जानकारी दिनुभयो । मन्त्री भण्डारीले जनस्तरमा समेत मित्रता, समझदारी र आपसी सहयोगको निरन्तर अभिवृद्धि भइरहेको बताउनुभयो ।

भेटमा कोरियाले अन्तर्राष्ट्रिय विकास सहयोग नियोग मार्फत विभिन्न क्षेत्रमा गरेको प्राविधिक सहयोग तथा जनशक्ति विकासमा पुर्याएको योगदान नेपालका लागि महत्त्वपूर्ण रहेको भण्डारीले बताउनुभयो । उहाँले अन्तरआवद्धता, पूर्वाधार विकास, ऊर्जा, व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्ध लगायतका क्षेत्रमा कोरिया सरकारसँग साझेदारी विस्तारमा नेपाल प्रतिबद्ध रहेको बताउनुभयो ।

हालैका वर्षहरूमा दक्षिण कोरिया नेपाली युवाका लागि वैदेशिक रोजगारीको आकर्षक थलो भएको उहाँले बताउनुभयो । नेपाली युवाका लागि रोजगारीका अवसर तथा कोरियाको आर्थिक विकासमा नेपाली श्रम शक्तिको प्रयोगबाट दुवै देशले लाभ लिने अवस्थाको सिर्जना भएको भण्डारीले बताउनुभयो ।

गणतन्त्र कोरियाले नेपाल लगायतका अल्पविकसित मुलुकलाई सामान्य ग्राह्यता प्रणाली मार्फत शून्य भन्सार महसुल सहित सहज बजार पहुँचको सुविधा प्रदान गर्दै आएको बताउँदै उहाँले नेपाल सन् २०२६ मा अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन लागेको सन्दर्भमा स्तरोन्नति पश्चात् समेत सो सुविधाको निरन्तरताका लागि आग्रह गर्नुभयो । नेपाली उद्योगको क्षमता अभिवृद्धि तथा निर्यात प्रवर्द्धन गर्न निजी क्षेत्र लक्षित प्राविधिक सहायता विस्तारका लागि समेत उहाँले अनुरोध गर्नुभयो ।

छलफलमा राजदूत तइयोङले कोरियन लगानीकर्ताले नेपालमा लगानी गर्न धेरै इच्छा देखाएकाले लगानीमैत्री वातावरण निर्माण गर्न मन्त्री भण्डारीसित आग्रह गर्नुभयो । उहाँले लगानी गर्न मिल्ने क्षेत्र पहिल्याउन पनि आग्रह गर्नुभयो ।

तइयोङले मझौला उद्योग सञ्चालन गरेर रोजगारी सिर्जना गर्न कोरिया सरकार तयार रहेको बताउनुभयो । उहाँले गाडीका पार्टपुर्जा ल्याउँदा र गाडीको ‘एसेम्बल’ गर्दा उही मूल्य पर्न जाने भएकाले भन्सार दर सहुलियत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपालमा बनेका सामान प्रति कोरियाली जनता अति प्रभावित रहेकाले नेपाली मालसामानको निर्यातमा सघाउन कोरिया सकारात्मक रहेको बताउनुभयो । कोरिया सरकारले नेपाललाई दिँदै आएको सहुलियत सन् २०२६ पछि पनि प्राप्त गर्ने वातावरणका लागि कोरियाको अर्थ मन्त्रालयमा आफूले कुरा गर्ने उहाँले वचन दिनुभयो ।

इपीएस प्रणालीमार्फत कोरिया पुगेका कामदारलाई कोरिया सरकारले दक्ष सीप सिकाएर नेपाल फर्केपछि उत्पादनसित जोड्न सकिने राजदूत तइयोङ बताउनुभयो ।