पानी र बिजुलीबाट पाँच सय रुपैयाँमा एक केजी ग्रिन हाइड्रोजन निकाल्न सकिने, साना गाडी सय किलोमिटरसम्म गुड्ने
काठमाडौं, चैत २० । नेपालमा पहिलो पटक शतप्रतिशत स्वच्छ ऊर्जा अर्थात ग्रिन हाइड्रोजनको उत्पादन सुरु भएको छ । काठमाडौं विश्वविद्यालय (केयू) को ग्रिन हाइड्रोजन ल्याबले अनुसन्धान प्रयोजनका लागि बनाएको धुलिखेलस्थित स्टेसनबाट आइतबारदेखि ग्रिन हाइड्रोजन उत्पादन भएको हो ।
नेपाल हाइड्रोजन इनिसिएटिभ्स परियोजना प्रमुख प्राडा विराजसिंह थापा नेतृत्वको टिमले नेपालकै विद्युत र पानी प्रयोग गरी हरित इन्धन ’हाइड्रोजन ग्यास’ उत्पादन गर्ने काम गरेको हो । यो सफलताले नेपालको आत्मबिश्वास ह्वात्तै माथि उठाएको छ । ग्रिन हाइड्रोजन उत्पादन उत्पादनसँगै स्टेसनबाट ग्रिन हाइड्रोजनको भण्डारण र रिफ्युलिङ (हाइड्रोजन गाडीमा हाल्ने) समेत गर्न सकिन्छ । केयूले आइतबार नै उक्त प्लान्टबाट आफ्नै हाइड्रोजन गाडीमा ग्रिन हाइड्रोजन रिफ्युलिङसमेत गरेको छ ।
केयूले ‘उत्पादन–भण्डारण–वितरण’ मोडेलमा यो परियोजना बनाएको छ, जसको प्राविधिक नाम ‘अन साइट ग्रिन हाइड्रोजन प्रडक्सन एन्ड रिफ्युलिङ’ हो । यस स्टेसनमा हाइड्रोजनलाई सात दिनसम्म भण्डारण गर्न सकिनेछ । केयू हाइड्रोजन ल्याबका प्रमुख प्राडा थापाका अनुसार हाइड्रोजनको उत्पादन, भण्डारण र वितरणको परीक्षण सफल भएको छ । यसले नेपालमा हाइड्रोजन उत्पादनको सम्भाव्यतालाई व्यावहारिक रूपमै पुष्टि गरेको छ ।
केयूले आफ्नै प्रविधिमा यो प्लान्ट बनाएको हो । केयूले स्टेसनको डिजाइन गरेर कोरियाको लाइट ब्रिज कम्पनी उपकरण बनाउन आग्रह गरेको थियो । त्यसकै आधारमा कोरियन कम्पनीले यसका लागि आवश्यक पर्ने उपकरण तयार गरेको प्रा.डा. थापाले जानकारी दिनुभयो । थापाका अनुसार करिब डेढ करोड लगानीमा यो स्टेसन तयार गरिएको हो ।
केयूले अनुसन्धानका लागि आफ्नै आधारभूत डिजाइनको हाइड्रोजन कार गत मंसिरमा कोरियाबाट ल्याएको थियो । केयूकै डिजाइनमा कोरियाको हुन्डाई कम्पनीले उक्त कार बनाएको थियो । ३३ हजार डलरमा केयूले त्यो गाडी ल्याएको थियो । अनुसन्धान प्रयोजनका लागि भएर यसमा पनि भन्सार राजस्वलगायत करमा छुट दिइएको थियो ।
यसअघि केयूले ल्याब प्रयोजनलाई नगण्य रूपमा हाइड्रोजन उत्पादन गरे पनि इन्धनका रूपमा उत्पादन गरेको थिएन । आइतबारदेखि भने केयूपरिसरमा उक्त कार अनुसन्धान प्रयोजनका लागि सञ्चालनमा आएको प्राडा थापाले बताउनु भयो । सरकारले गत माघदेखि नेपालमा ‘हाइड्रोजन नीति, २०८०’ लागू गरेको छ । तर, हाइड्रोजनको उत्पादन, भण्डारण, वितरण तथा व्यापारसम्बन्धी कुनै पनि कानुनी व्यवस्था छैन । साथै, हाइड्रोजन गाडीको आयात, दर्ता, नम्बर प्लेटसम्बन्धी पनि कानुनी व्यवस्था पनि छैन । यही कारण केयूको हाइड्रोजन कार पनि दर्ता भएको छैन ।
प्राडा थापाले रुट पर्मिट र नम्बर प्लेटसमेत नभएको उक्त गाडी केयूपरिसरमै अनुसन्धान प्रयोजनमा सञ्चालन हुने बताउनु भयो । नेपालको अर्थतन्त्रको विकास गर्न यो ठूलो अवसर भएको उहाँको भनाई छ । ‘ऊर्जामा आएको हाइड्रोजन प्रविधिले नेपाललाई पुनः अवसर प्रदान गरेको छ । नेपालमा यसको उत्पादन गर्न सक्ने कुरालाई व्यावहारिक रूपमा नै पुष्टि गरियो । अब नीतिगत र राजनीतिक रूपमा यो मुद्दा अघि बढाउनुपर्छ ,’ थापाले भन्नुभयो ।
केयूले विभिन्न पाँच चरणमा ग्रिन हाइड्रोजन निकाल्ने उहाँको भनाई छ । केयूले यसमा धाराको पानी नै प्रयोग गरेको छ । प्राडा थापाका अनुसार पहिलो चरणमा उक्त पानीलाई सफा गरिन्छ । दोस्रो चरणमा पानीमा भएको मिनिरल निकाल्ने काम गरिन्छ । त्यसपछि बिजुली प्रयोग गरेर (इलेक्ट्रोलाइसिस प्रक्रिया) पानीलाई हाइड्रोजन र अक्सिजन छुट्याइनेछ । त्यसरी निस्किएको हाइड्रोजनलाई प्रशोधन गरी शुद्धीकरण गरिन्छ । त्यसपछि त्यसलाई ‘लो कम्प्रेसर’वाला ट्यांकीमा भण्डार गरिन्छ ।
रिफ्युलिङ (गाडीमा भर्न)का लागि भने ‘हाई कम्प्रेसर’ ट्यांकीमा भण्डारण गरेर गाडीमा रिफ्युलिङ गरिनेछ । केयूले बनाएको स्टेसनमा पाँच किलोवाटको एउटा इलोक्ट्रोलाइजर छ, त्यसबाट दैनिक (२० घण्टामा) दुई किलो ग्राम (केजी) हाइड्रोजन निकाल्न सक्छ । प्लान्टले एक घण्टामा ८० देखि सय ग्रामसम्म हाइड्रोजन निकाल्न सक्छ । गाडीमा आधा केजी हाइड्रोजन रिफ्युलिङ गर्न दुई मिनेट समय लाग्छ ।
केयुका अनुसार एक केजी हाइड्रोजन बनाउन ५० युनिट बिजुली र १० किलोग्राम पानी चाहिन्छ । त्यसअनुसार एक केजी हाइड्रोजन बनाउन चार सय रुपैयाँबराबर (प्रतियुनिट आठ रुपैयाँका दरमा) को बिजुली चाहिन्छ । पानी र श्रमशक्ति गरेर पाँच सय रुपैयाँमा एक केजी ग्रिन हाइड्रोजन निकाल्न सकिन्छ । जसबाट साना गाडी सय किलोमिटरसम्म गुडाउन सकिन्छ । विद्युत स्टोरेजका लागि पनि यो उपयुक्त हुने प्राडा थापाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्