काठमाडौं, चैत २१ । नेपाल उद्योग वाणिज्य महासंघले राजस्व बढाउने नाममा सरकारले व्यवसायीलाई अति नै दुःख दिइएको खुलासा गर्नुभएको छ । अर्थमन्त्री वर्षमान पुनसँग मंगलबार भेट गरी महासंघका अध्यक्ष चन्द्र ढकालले यस्तो खुलासा गर्नुभएको हो ।
‘ब्यवसायीहरु कर तिर्न तयार छन । तिरिरहेका छन तर सरकारी निकायबाट अपराधीसरह ब्यवहार हुन थाल्यो । राजस्व बढाउने नाममा सरकारी संयन्त्रबाट व्यवसायीलाई अति नै दुःख दिइएको छ, यो ज्याद्धती रोकिनु पर्यो,’ अर्थमन्त्री पुनसँग महासंघ अध्यक्ष ढकालको भनाई थियो । ढकालको गुनासो सुनेपछि अर्थमन्त्री पुनले राजस्व संकलनका लागि व्यवसायीलाई अनावश्यक दुःख नदिने प्रतिवद्धता जनाउनु भएको महासंघले जनाएको छ ।
भेटमा अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई पछिल्ला दिनमा महासंघमा अनावश्यक बजार अनुगमन बढेको भन्दै सदस्यहरुबाट गुनासो आइरहेको जानकारीसमेत गराउनु भएको छ । सरकारको राजस्व संकलनमा कमी आएपछि सरोकारवाला निकायले व्यवसायीलाई समस्यामा पारेको उहाँको भनाई छ ।
उहाँले निजी क्षेत्रले सुव्यवस्थित रुपमा काम गर्न नसके व्यवसाय मात्र नभई सरकारको राजस्वमा समेत गम्भीर असर पर्नेतर्फ बिशेषसतर्कता अपनाउन अर्थमन्त्रीको ध्यानाकर्षणपनि गर्नुभएको छ । अध्यक्ष ढकालले मुलुकमा उद्योग तथा व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरण बनाउन पहल गर्न पनि अर्थमन्त्री पुनलाई आग्रह गर्नुभएको छ ।
महासंघ अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई स्वदेशी लगानीकर्ताहरूलाई सम्मान गर्नु पर्ने र सरकारले व्यवसायीहरूको मनोबल बढाउनु पर्ने सुझाव पनि दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्