काठमाडौं, चैत २२ । राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेले सांसद विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त रहेको पदमा चैत २८ गते निर्वाचन हुँदैछ । सो निर्वाचनमा एमालेले घिमिरे लाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालका अनुसार २ वर्षको कार्यकाल बाँकी रहेकी बिमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।
‘उहाँ योग्य र सिनियर हुनुभएकाले राष्ट्रिय सभामा उपाध्यक्ष बनाउने निर्णय भएको हो,’ दाहालले भन्नुभयो, ‘सत्ता समीकरणमा रहेका दलहरुसँग छलफल गरेरै उहाँलाई उम्मेदवार बनाइएको हो । उहाँ गठबन्धनको उम्मेदवार हो ।’
उहाँले उपाध्यक्षको दावी गरेको एकीकृत समाजवादीसँग छलफल भएपछि सहमतिमै घिमिरेलाई उम्मेदवार बनाइने बताउनु भयो । घिमिरे कपिलवस्तुका नेता हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्