जनता टाइम्स

२९ चैत्र २०८०, बिहीबार ००:३२

नयाँ बर्षदेखि २४ सै घण्टा खुल्ने छ ठमेल र दरवारमार्ग क्षेत्र


काठमाडौं, चैत २९ । नयाँ बर्षको दिनबाट काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल र दरवारमार्ग २४ सै घण्टा खुल्ने भएको छ । सरकारले आवश्यक सुरक्षा ब्यवस्था मिलाएसँगै शनिवार अर्थात २०८१ बैशाख १ गतेबाट ठमेल र दरवारमार्ग क्षेत्र २४ सै घण्टा खुल्न लागेको हो ।

ठमेल पर्यटन विकास परिषदले नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सै घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको जनाएको छ । परिषदका अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउन आवश्यक सम्पूर्ण तयारी भएको जानकारी दिनुभयो ।

नयाँ वर्षको उपलक्ष्यमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्गको बजार क्षेत्र २४ सै घण्टा सञ्चालन हुने घोषणा गर्ने शर्माले बताउनु भयो ।

उहाँका अनुसार सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लिनेछ । जिल्ला प्रकाशन कार्यालय काठमाडौंले दुवै मुख्य क्षेत्रमा पूर्णकालीन व्यवसाय सञ्चालनका लागि आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड बनाइएको छ ।

शुक्रवार बस्ने जिल्ला सुरक्षा समितिको बैठकले उक्त मापदण्ड पारित गरेपछि लागू हुने जिल्ला प्रशासनको भनाई छ । जिल्ला प्रशासनले सरोकारवाला सवैसँगको राय–सुझावका आधारमा पूर्णकालीन व्यवसाय सञ्चालनसम्बन्धी सुरक्षा व्यवस्थापन मापदण्ड बनाएको छ ।

ठमेलमा अहिले बिहान ४ बजेसम्म क्लब खुल्छन । रात्रिकालीन व्यवसायअन्तर्गत क्लब, डान्स, दोहोरी, डिस्कोलगायत मनोरञ्जन व्यवसाय, किराना पसल, पर्यटनसँग सरोकार भएका सबै बजार खुल्नेछन ।

परिषदले जनाएअनुसार २४ सै घण्टा बजार खुलेसँगै मापदण्ड पूरा गर्न समय सीमा दिइने र त्यो पूरा गरेको खण्डमा खोल्न दिइने छ । मापदण्ड पालना नभए कानुनी दायरामा ल्याइने परिषदको भनाई छ ।