जनता टाइम्स

४ बैशाख २०८१, मंगलवार ०१:१५

गृहमन्त्री रवि लामिछानेले सुप्रिम सहकारीबाट १ करोड ८० लाख रकम लिएको प्रमाण भेटियो


काठमाडौं, बैशाख ४ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा रकम आएको तथ्य भेटिएको छ ।

प्रहरीले गरेको अनुसन्धानबाट गृहमन्त्री लामिछानेले १ करोड ८० लाख रुपैयाँ ऋण लिएको तथ्य भेटिएको हो । अनुसनधानपछि जिल्ला अदालत रुपन्देहीमा पेस गरिएको अभियोगपत्रमा रविले सो रकम लिएको उल्लेख छ । सो रकम लामिछानेले २०७८ पुस ७ गते लिनुभएको उल्लेख गरिएको छ ।

सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटालामा संलग्न ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले अदालतमा अभियोगपत्र दायर गरेको छ ।

सहकारी सञ्चालकहरूसँग सरकारी वकिलले १ अर्ब २ करोड माग दाबी लिएको छ । सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं पूर्वकोषाध्यक्ष दिपेश पुन, दुर्गा चापागाईँ पाण्डे, दीपक न्यौपाने र निता थापा मागर पक्राउ परेका छन् । ५ जना बाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ ।

गोर्खा मिडिया नेटवर्कको नाममा करोडौं रकम निकासा भएको अनुसन्धानबाट देखिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले प्रहरीले रकम हिनामिनामा संलग्नको आरोपमा २८ जनालाई प्रतिवादी बनाएर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको जानकारी दिनुभयो । ‘लामो अनुसन्धानपछि २८ जनालाई प्रतिवादी कायम गर्न रायसहित सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको उहाँको भनाई छ ।

प्रतिवेदनमाथि सरकारी वकिल कार्यालयले आफ्नो राय थपघट गर्न अध्ययन गरिरहेको छ । बुटवलमा मुख्य कार्यालय रहेकाले बचत हिनामिनाको इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरेको थियो । उक्त सहकारीको बचत रकम हिनामिना आरोपमा ओखलढुंगा घर भएका जिवीराईसहित २८ जनालाई प्रतिवादी बनाउन प्रहरीले सरकारी वकिललाई राय दिएको छ । एसपी राठौरले प्रतिवादीबाट १ अर्ब २ करोड बिगो मागदाबी भराउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको बताउनु भयो ।

सहकारी हिनामिनामा जोडिएका संस्थाका अध्यक्ष गुरुङसहित पदाधिकारीमाथि अनुसन्धानका लागि प्रहरी सहकारी र कम्पनी रजिस्ट्रार कार्यालयबाट विज्ञ र सीआईबीका अनुसन्धान अधिकृतको सहायता लिएको जनाएको छ । बचतकर्ताको रकम हिनामिना भएको भन्दै उजुरी परेपछि प्रहरीले गत फागुन ३ गते सुप्रिम सहकारीका अध्यक्ष गुरुङ र भैरहवा शाखा व्यवस्थापक चापागाईंलाई पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ परेका ५ जनाबाहेक अन्यलाई फरार प्रतिवादी कायम गरिएको प्रहरीले जनाएको छ । पूर्वउपराष्ट्रपतिका छोरा पुन गत चैत २ मा काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना सार्वजनिक भएपछि प्रहरीले पीडितबाट जाहेरी माग गरेको थियो ।

अहिलेसम्म बचत हिनामिना भएको उल्लेख गरेर १ हजार ८ सय ३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका छन् । प्राप्त जाहेरीका आधारमा पीडितको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ । तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।