जनता टाइम्स

४ बैशाख २०८१, मंगलवार १२:२२

माओवादी नेताबाट संरक्षित चिनियाँ गिरोहले एकै वर्ष २८ सय ३१ केजी सुन तस्करी गरेको खुलासा


काठमाडौं, बैशाख ४ । सत्तारुढ नेकपा माओवादीका नेताहरुबाट संरक्षित चिनियाँ गिरोहले एकै वर्ष २८ सय ३१ केजी सुन तस्करी गरेको तथ्य फेलापरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले गरेको बिस्तृत अनुसन्धानले यस्तो प्रमाण फेलापारेको हो ।

चिनियाँ गिरोहले विभिन्न सामानभित्र लुकाएर एक वर्षमै दुई हजार आठ सय ३१ केजी सुन नेपालमा तस्करी गरेको समेत प्रहरीले निकालेको छ । ‘ब्रेक सु’मा लुकाएर विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा पक्राउ परेका सुन तस्कर समुहमाथि थप अनुसन्धान गर्ने क्रममा प्रहरीले एकै वर्ष सो समुहले सयौँपटक सुन तस्करी गरेको र दुई हजार आठ सय ३१ केजी सुन नेपाल भित्र्याएको तथ्य फेला परेको हो ।

सुन तस्करीको बिषयमा सिआइबीले अनुसनधान गरिरहेको छ । यसअघि सिआइबीले तीन सय ६२ केजी सुन तस्करी गरेको अभियोगसहित २९ जनाविरुद्ध गत गत बर्षको भदौ ३१ गते जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो । जसमध्ये ६० किलो सात सय १६ ग्राम सुन बरामद भएको थियो । सो समूहले थप सुन तस्करी गरेको तथ्य विस्तृत अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलगन सिआइबीका अधिकारीहरुले जनाएका छन ।

सिआइवीले बिभिन्न विशेषज्ञ र प्राविधिकहरूसमेतको सहयोग लिएर सो विषयमा विस्तृत अनुसन्धान गरेको थियो । जसमा उनीहरूले धेरै सुन तस्करी गरेको पुष्टि भएको छ । सिआइवीले यसमा अब छुट्टै सुन तस्करीको बिषयमा अभियोजन हुने जानकारी दिएको छ । चिनियाँ सुन तस्कर समुहले ब्रेक सुका साथै पानी तान्ने पम्प, स्मार्ट वाच, इलेक्ट्रिक सेभिङ मेसिनलगायत सामानभित्र लुकाएर दुई हजार आठ सय ३१ केजी सुन तस्करी गरेको तथ्य अनुसन्धानको क्रममा फेलापरेको हो ।

छानविनको क्रममा राजश्व अनुसन्धान बिभागले नै फेला पारेको सुन पगाल्न टोखामा बनाएको टहरासहित लाजिम्पाट, सोह्रखुट्टे, बाँसबारीलगायत घरमा स्टोर गरिएका सामानको विश्लेषणसमेत गरिएको सिआइवीले जनाएको छ । विदेशबाट आयात गरिएका ती सबै सामान सुन निकालेर राखिएका थिए । आयात गरेको सामानको विवरणका साथै कुन मेसिनमा कति सुन लुकाइएको थियो भन्ने प्राविधिक रूपमा विश्लेषण गरेर सिआइबीले दुई हजार आठ सय ३१ केजीको हिसाब निकालेको हो ।

मेसिनभित्र लुकाएर ल्याइएको सुन विमानस्थलस्थित भन्सारको एक्सरेले पत्ता नलगाउने भएकाले यसरी एक वर्षसम्म सुन तस्करी गरेको पाइएको छ । प्रहरीका अनुसार तस्करी गरेको धेरैजसो सुन उनीहरूले भारत पुर्याउने गरेको देखिएको छ । भारततर्फ सुन तस्करीमा जोडिएका धेरै व्यक्तिको पहिचान नभए पनि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रहरीका अनुसार भन्सार कानुनका सुविधा दुरुपयोग गरी तस्कर समुहले सुन तस्करी गरेको तथ्यसमेत पुष्टि भएको छ । नेपालको भन्सारसम्बन्धी कानुनी प्रावधानअनुसार पाँच सय डलरसम्मको सामान आयात गर्दा प्रतीतपत्र (एलसी) खोल्नुपर्दैन । तर, एउटा कम्पनीले कति पटकसम्म पाँच सय डलरसम्मको सामान प्रतीतपत्र नखोली ल्याउन पाउने भन्ने प्रस्टता नभएकोले सोही कानुनी अस्पष्टताको फाइदा सुन तस्कर समुहले उठाएका हुन ।

उनीहरूले पाँच सय डलरसम्मको सामान पटक–पटक आयात गर्ने र त्यसभित्र सुन लुकाएर ल्याउने गरेको प्रहरीको भनाई छ । सुन तस्कर चिनियाँ समुहसँग सत्तारुढ नेकपा माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनसहित थुप्रै ब्यक्तिहरु संलग्न रहेको तथ्य पनि प्रहरीले फेलापारेको छ ।

प्रहरीले सुन तस्करीकै अनुसन्धानका लागि महरालाई पक्राउ गरे पनि अदालतले स्वास्थ्यको कारण देखाएर छाडन आदेश दिएपछि रिहा भएका छन । सुन तस्कर जोगाउन सिआइवीका प्रमुख लागेको तथ्य पनि यसअवधीमा उजागर भइसकेको छ ।