जनता टाइम्स

६ बैशाख २०८१, बिहीबार १९:२४

सुदुरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने एमाले निर्णय


कैलाली, बैशाख ६ । नेकपा एकीकृत समाजवादीका नेता दीर्घराज सोडारी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमाले तत्काल सहभागी नहुने भएको छ । सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको आज बसेको बैठकले तत्काल प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

संसदीय दलका नेता राजेन्द्रसिंह रावलका अनुसार बैठकले सरकारमा सहभागी नहुने निर्णय लिएको हो । ‘अहिलेलाई समर्थन गर्ने र बाहिरबाट सहयोग गर्ने निर्णय गरेका छौँ,’ रावलले भन्नुभयो, ‘अर्काे निर्णय नहुँदासम्म सरकारमा सहभागी नहुने निर्णय गरेका छौँ ।’

एमालेको समेत समर्थनमा प्रदेश प्रमुख नजिर मियाँले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिसक्नु भएको छ । तर सरकारमा तत्काल सहभागी नहुने निर्णय एमालेले गरेको हो ।

एमालेसहित, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । यद्यपी नागरिक उन्मुक्तिबा बहुमत सांसदले आपत्तिसहित प्रदेश प्रमुखलाई पत्र बुझाएका छन ।