जनता टाइम्स

७ बैशाख २०८१, शुक्रबार १८:१८

एमाले भातृसंगठन उद्योग ब्यवसायी महासंघको नेतृत्व फेरियो : अध्यक्षमा सापकोटा, शिवाकोटी महासचिव


काठमाडौं, बैशाख ७ । नेकपा एमालेको जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको नेतृत्व परिवर्तन भएको छ । काठमाडौंमा आज सम्पन्न केन्द्रीय कमिटीको पाँचौं बैठकले अध्यक्षमा संगठनका महासचिव भगीरथ सापकोटालाई अध्यक्षमा चयन गरेको छ ।

बैठकबाट अध्यक्ष एलपी साँवा लिम्बुले बिदा लिनुभएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका अध्यक्ष साँवालाई बिदा गरेर बैठकले महासचिव सापकोटालाई अध्यक्ष चयन गरेको हो ।बैठकले पदाधिकारीलाई सचिवालयमा रुपान्तरण गरेर अध्यक्षसहित ३ सदस्यीय पदाधिकारी रहने ब्यवस्था गर्दै महासचिव र कोषाध्यक्ष पनि चयन गरेको छ ।

बैठकमा महासचिव सापकोटालाई अध्यक्षमा बढुवा गरेर उपाध्यक्ष बालकृष्ण शिवाकोटीलाई महासचिव चयन गरेको छ भने प्रकाश पौडेललाई कोषाध्यक्ष चयन गरिएको छ । १७ सदस्यीय पदाधिकारी रहेको महासंघमा अव अध्यक्षसहित महासचिव र कोषाध्यक्ष मात्रै पदाधिकारी रहने ब्यवस्था गरिएको छ ।

कार्यसमितिलाई पदाधिकारीसहित १५१ सदस्यीय महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरिएको छ । नयाँ समितिले ६ महिनाभित्र महाधिवेशन गराउने जिम्मेवारी तोकिएको छ । पर्यटन व्यवसायी सापकोटा यसअघि दुई कार्यकालसम्म महासंघको महासचिवको भूमिकामा रहनुभएको थियो ।

महासचिव शिवाकोटी मेगा बैंकका पूर्वसञ्चालक एवं कालिन्चोक केबलकारका अध्यक्ष हुनुहुन्छ । काठ ब्यवसायमा बिशेष अब्बल शिवाकोटीको अन्य थुप्रै ब्यवसाय रहेको छ । यस्तै पौडेल नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक हुनुहुन्छ । पौडेल यसअघि लेखा आयोग संयोजकको जिम्मेवारीमा रहनुभएको थियो ।

एमाले पार्टीसँग नजिक रहेका देशभरका उद्योगी व्यवसायीहरू यस महासंघमा आबद्ध छन् । ६५ जिल्लामा जिल्ला संघ र १२० नगरमा नगर संघको सञ्जाल रहेको सो महासंघमा विभिन्न ११ वटा वस्तुगत संघहरुमा समेत गरी ७० हजारभन्दा बढी व्यवसायी संघसंस्थाहरु सदस्य रहेका छन् ।