जनता टाइम्स

१३ बैशाख २०८१, बिहीबार १४:५१

अर्थ र योजनाविदमाथि माधवले लगाए गम्भीर आरोप


काठमाडौं, बैशाख १३ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अर्थ र योजना बिज्ञहरुले देशको समस्या पहिचान गर्नै असफल बनेको आरोप लगाउनु भएको छ ।

काठमाडौंमा आज बसेको राष्ट्रिय विकास परिषद्को बैठकमा अध्यक्ष नेपालले बिज्ञहरुमाथि यस्तो आरोप लगाउनु भएको हो । बिज्ञहरु नालायक बन्दा देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको नेपालको भनाई छ ।

‘अर्थ विज्ञ र योजना विज्ञहरुले देश विकासका समस्या पहिचान गरी समस्यालाई पहिल्याउन सकेनन,उनीहरुले त्यो काम गर्न नसकेको कारण सरकार पनि योजना छनोटको प्राथमिकीकरणमा चुक्यो,’ नेपालले भन्नुभयो । उहाँले मुलुकका सवै पालिकामा अस्पताल बनाउने कुराको समेत बिरोध गर्नुभयो ।

‘हामी हचुवा पाराले काम गर्छौं । देशभरका जतिपनि ७५३ वटा पालिका छन् । एकै पटक सबै ठाउँमा अस्पताल बनाउने कुरा सोच्छौँ । जहाँ जहाँ आयो, त्यहाँ त्यहाँ हामी हवाई मैदान बनाउँछौँ, कहाँ बनाउने, कुनलाई प्राथमिकता दिने, कहाँ कति बजेट छुट्याउने ? यसमा प्राथमिकीकरणको कमी छ’, नेपालले भन्नुभयो ।

उहाँले नेपालले कृषिको निम्ति व्यापक योजना आउनुपर्ने आवश्यकता रहेको धारणा पनि राख्नुभएको छ ।