काठमाडौं, असोज १२ । कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर ह्याकरले सोही बैंकमा खाता रहेका २२ जनालाई रकम ट्रान्सफर गरेको तथ्य खुलेको छ । अहिलेसम्मको प्रहरी अनुसन्धानबाट ह्याकरले कृषि विकास बैंकमा खाता रहेका २२ जना ग्राहकलाई रकम पठाएको खुलेको हो ।
प्रहरीका अनुसार ह्याकरले सबैको खातामा १० लाखभन्दा बढी रकम पठाएको पाइएको छ । ह्याकर समूहले कृषि विकास बैंकको लहान शाखाबाट चार करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरेको थियो । गत आइतबार प्रहरीले एकैदिन ह्याकिङमा संलग्न १२ जनालाई पक्राउ गरेको थियो । त्यसपछि थप चार जना पक्राउ परेका छन । एउटा फोनको आधारमा अघि बढाइएको अनुसन्धान ७२ घण्टाभित्र ह्याकर समुहको सदस्य समातेको महानगरीय अपराध महाशाखाले थप चार जनालाई उपत्यका बाहिरबाट पक्राउ गरेको हो ।
प्रहरीले संगठित अपराध र बैंकिङ कसूर सम्बन्धी म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । सो बैंक ह्याक प्रकरणमा अपराध महाशाखाको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । महाशाखा प्रमुख प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाका अनुसार ह्याकर समुहले पहिला नै बैंकमा खाता भएकाहरुलाई प्रयोग गरी रकम ट्रान्सफर गरेको पाइएको छ । ‘कृषि विकास बैंकमा खाता भएकाहरुलाई नै ह्याकरले प्रयोग गरेको देखिएको छ,’ एसएस्पी थापाले जनताटाइम्ससँग भन्नुभयो । ह्याकर समूहका कमिसनको लोभ देखाएर अरुको खाता प्रयोग गरेको पाइएको थापाको भनाई छ ।
एसएसपी थापाका अनुसार पक्राउ पर्नेहरुको संख्या निकै बढ्नसक्ने अनुमान छ । ‘हामी गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं । पक्राउ पर्नेहरुको संख्या निकै बढ्नसक्छ,’ एसएस्पी थापाले भन्नुभयो । कृषि बिकाश बैंक ह्याकका मुख्य योजनाकार अफ्रिकी मूलका पिटर भनिने काले रहेको र उनले भारतमा बसेर योजना बनाई नेपाली एजेण्टलाई प्रयोग गरेको अनुसन्धानबाट खुलिसकेको छ । प्रहरीका अनुसार एजेन्टले १० देखि ३५ प्रतिशत कमिसन दिने लोभमा खातामा आएको रकम निकालेर आफूलाई दिन लगाएका थिए । कालेको समूहले पाँच अर्ब निकाल्ने योजना बनाएको तथ्य यसअघि नै खुलिसकेको छ ।
सो प्रकरणमा प्रहरीले हालसम्म लवाङ तामाङ, लक्ष्मी तामाङ, सञ्जय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्कालाई पक्राउ गरेको छ । यस्तै, विद्यासागर लामिछाने, श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, शुभंकर पन्जा, विजय शाह, चन्द्र बहादुर बुढा, रामकृष्ण भुसाल, यज्ञराज भट्ट, मालती देवी न्यौपाने, गणेश बस्याललाई पक्राउ गरिसकेको छ । प्रहरीले मुख्य योजनाकार पिटरको खोजीका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । पिटर भारतको मुम्बई र नयाँ दिल्लीमा बस्दै आएको र त्यहीँबाट बैंक लुट्ने योजना बनाएको प्रहरीको भनाई छ ।
सो समूहले सौराहा युजर आईडीबाट नुवाकोटबाट कृषि विकास बैंकको सौराहा शाखाको रकम लुटेको थियो । प्रहरीले बैंकको कम्प्युटर लगायतका अन्य सामग्रीको समेत ल्याब परीक्षण गर्न थालेको छ । प्रहरीले ‘लुटिएको सबै रकम सुरक्षित रहेको बताएको छ । अरुको खातामा गएको रकम पनि निकाल्न नमिल्ने बनाइएको एसएसपी थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्