जनता टाइम्स

१३ आश्विन २०७६, सोमबार ११:५९

गोला प्रथा जित्ने मात्रै जापान जान पाउने, यसरी हुँदैछ नेपाली कामदारको भाषा परीक्षा


काठमाडौं, असोज १३ । स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) अन्तर्गत नर्सिङ केयर गिभरमा जापान जाने नेपाली कामदारले भाषा परीक्षामा सहभागी हुन गोला प्रथामा सहभागी भई जित्नैपर्ने भएको छ ।

जापान जानका लागि नेपालीहरूले धेरै संख्यामा भाषा परीक्षामा सहभागी हुने चासो देखाएपछि जापान सरकारले एक हजार जनालाई मात्रै भाषा परीक्षामा सहभागी गराउने बताएको थियो । यसअघि ‘फस्ट कम फस्ट प्रायोरिटी’ का आधारमा पहिले फर्म भर्ने हजार जनालाई मात्रै परीक्षामा सहभागी गर्ने बताइए पनि अहिले भने गोला प्रथाको निर्णयमा जापानी कम्पनी पुगेको हो । परीक्षाको जिम्मा पाएको जापान फाउन्डेसनले त्यो नियम परिवर्तन गर्दै फर्म भर्नेहरूमध्ये गोला प्रथाबाट छानिएका हजार जनालाई मात्रै भाषा परीक्षामा सहभागी गराउने निर्णय गरेको छ ।

जापान सरकारले एसएसडब्लु अन्तर्गतको सबै जिम्मेवारी जापान फाउन्डेसनलाई दिएको छ । जापान फाउन्डेसनले आफ्नो वेबसाइटमै भाषा परीक्षणमा सहभागी हुनेको नामावली गोला प्रथाबाट छनोट गर्ने उल्लेख गरेको छ । फाउन्डेसनले यसअघि नै अक्टोबर २७ देखि २९ सम्म पहिलो चरणमा भाषा परीक्षा लिने जानकारी दिइसकेको छ । त्यसपछि दोस्रो चरणमा नोभेम्बर ५ देखि ७ र तेस्रो चरणमा नोभेम्बर १२ देखि १४ सम्म भाषा परीक्षण हुनेछ ।

सो भाषा परीक्षणमा सहभागी हुन जापान फाउन्डेसनले सेप्टेम्बर २७ देखि अक्टोबर ३ सम्म फर्म भर्नुपर्ने बताएको छ । उक्त फर्मका आधारमा गोलाप्रथाबाट छानिएका हजार जनाले मात्रै भाषा परीक्षा दिन पाउने छन । छनोट भएकालाई फाउन्डेसनले इमेल गर्नेछ । जापान फाउन्डेसनले भाषा परीक्षामा ६० प्रतिशतभन्दा बढी ल्याउनेलाई मात्रै जापान लैजाने जनाउ यसअघि नै दिइसकेको छ ।