जनता टाइम्स

१४ आश्विन २०७६, मंगलवार ०६:५०

सभामुखको महरा माथि लागेको आरोपको बारे यस्तो भन्छ सचिवालय


काठमाडौं, असोज १४ ।  सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई दुर्व्यवहार गरेको भनेर आएको खबरप्रति उहाँको सचिवालयले आपत्ति जनाउँदै त्यसमा सत्यता नरहेकाले भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ ।
सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै सभामुख महरालाई सुनियोजित र योजनाबद्द रुपमा फसाउन खोजिएको उल्लेख छ । कर्मचारी समायोजनमा चित्त नबुझ्दा महिला कर्मचारीले सभामुखको बारेमा पुरै गलत, कपोकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखसमेत दुखित र आश्चर्यचकित हुनुभएको विज्ञप्तिमा उल्लेख छ ।

सभामुखको बारेमा गरिएको अनर्गल प्रचारबाजी क्षम्य नरहेको पनि विज्ञप्तिमा भनिएको छ ।

सभामुखको राजनीतिक व्यक्तित्वलाई अन्य कुनै पनि हतियारले गलाउन नसकेपछि कठपुतली तयार पारेर सामाजिक रुपमा बदनाम गर्ने दुष्प्रयास गरिएको प्रति यस्तो कृयाकलापको भत्र्सना गरेको छ ।

साथै समाचारमा आएको जस्तो चश्मा र जुत्ताका कुरा पनि पुरै निराधार भएको भन्दै चश्मा सभामुख महरासँगै रहेको सभामुखले त्यस प्रकारको जुत्ता प्रयोग नगरेको सचिवालयले जनाएको छ । त्यस्तै  असोज १२ गते दिउँसो १२ बजे सभामुख सि‌ंहदरबारमा रहेको आफ्नो कार्यालयमा गएर २ बजे बालुवाटारमा रहेको निवासमा फर्किएको पनि विज्ञप्तिमा उल्लेख छ ।
सोमबार सञ्चारमाध्यममा सभामुखमाथि एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएको समाचार प्रकाशित भएपछि सभामुखको सचिवालयले खण्डन गरेको हो ।