काठमाडौैं, जेठ ५ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको तथ्य नै रहेको बताउनु भएको छ । सहकारीको विषय उठेको अवस्थामा पनि कांग्रेसले लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको पाइएको प्रधानमन्त्री दाहालले खुलासा गर्नुभएको हो ।
आज आयोजित कान्तिपुर हाफ म्याराथनको उद्घाटनपछि सञ्चारकर्मीसँग प्रधानमन्त्री दाहालले सहकारीको विषयलाई लिएर संसद अवरोध गर्ने तर रबिलाई नै प्रधानमन्त्री अफर गरिरहेको बताउनु भयो । उहाँले संसदमा भइरहेको अवरोध अन्त्य गर्ने प्रयास जारी रहेको पनि बताउनु भयो ।
सहकारीको विषय राजनीतिक नियतका साथ उठाएर सदन अवरुद्ध गरिएको भएपनि समाधान खोज्ने प्रयास भने जारी रहेको उहाँको भनाई थियो । सत्ता गठबन्धन परिवर्तन गरेपछि कांग्रेसले लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको तथ्य आफूले पाएको दाहालले खुलाउनु भयो ।
’नयाँ समीकरणपछि यस (सहकारी ठगीमा लामिछानेको संलग्नता) लाई यसरी हाइलाइट गरियो, गर्न खोजियो कि यो सदन अवरुद्धको स्थितिमा पुग्यो । योभित्र कहिँ न कहिँ पलिटिकल इन्टेन्सनले काम गरेको छ भन्ने देखिएको छ । जसलाई आरोपित गरिएको छ, उहाँले पटकपटक भन्ने गर्नुभएको छ, सार्वजनिक रूपमै पनि र मैले पनि त्यसलाई पुष्टि गर्न खोजेको साच्चै त्यो हो कि होइन भनेर पुष्टि गर्न खोज्दा पनि, रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरिएकै थियो, कांग्रेसको दोहोरो चरित्र उदांगो पार्दै प्रधानमन्त्री दाहालले भन्नुभयो ।
उहाँले कांग्रेसको यो शैली अराजनीतिक रहेको संकेत पनि गर्नुभयो । ’यो प्रचार हुँदाहुँदै पनि गरिएको थियो । प्रधानमन्त्री बन्न तयार तत्काल नभएपछि यो विषयलाई उठाइयो भने कहिँ न कहिँ राजनीतिले काम गरेको छ भन्ने त देखिएको छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्